नेभिगेशन
राजनीति

नेतृत्वमा रस्साकस्सी, नेता चयन मतदानबाट

विद्या भण्डारीको समर्थनमा उभिएका प्रतिस्पर्धीको चुनौतीले ओलीलाई सकस बढेको छ । उनी पक्षधर नेताहरू नेतृत्व चयन सकभर सर्वसम्मत गराउन जोडबल लगाइरहेका छन् ।

काठमाडौं । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी नेतृत्वमा प्रतिष्पर्धाको तयारी गरेर चुनौती दिएका बेला मतदानबाट पदाधिकारी चयन हुने टुंगो भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गाह्रो परेको छ । उनी जसरी पनि जित्ने परिस्थिति बनाउन छलफलमा छन् । पार्टीको केन्द्रीय निर्वाचन कमिटीले मंगलबारका लागि मतदानको कार्यक्रम सार्वजनिक गरेको छ ।

आइतबार बन्द सत्रमा ओली र पोखरेलले पार्टीका नेता कार्यकर्तामाझ आआफ्नो पक्ष राखेका छन् । पार्टीको एघारौं महाधिवेशन निर्धारित कार्यतालिकामा नसकिने भएपछि एक दिन समय थपिएको छ । शनिबार सुरु भएको महाधिवेशन सोमबार सक्ने तयारी थियो । तर, निर्वाचन कमिटीले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार मंगलबार मतदान हुनेछ । त्यसअघि उम्मेदवारी दर्ता, दाबीविरोध र अन्तिम नामावली प्रकाशनका कार्यतालिका छन् ।

उम्मेदवारी दर्ता भएपछि मात्रै पार्टीका मुख्य पदहरूमा कोको उठ्ने भन्ने प्रष्ट हुनेछ । ओलीले आफूलाई सघाउनेलाई अघि बढाउने भएकाले पद चाहिएका उनी निकटका नेताहरू शीर्ष तहमा सर्वसम्मतिका लागि छलफलमा छन् । अधिवेशनस्थलमा निर्वाचन कमिटीले आइतबार बेलुकी ७ बजे मतदाता नामावली प्रकाशित गरेको छ ।

सोमबार उक्त नामावली उपर दाबी, विरोध/सुधार, दाबी विरोध उपर छानबिन र निर्णय गरि अन्तिम नामावली प्रकाशन हुनेछ । सँगै उम्मेदवारको मनोनयन दर्ता, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, दाबी विरोधमा उजुरी लगायतको कार्यसूचीपछि साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।

मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजे सम्म मतदानको तालिका छ । निर्वाचनको सबै प्रक्रिया काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।

अब १९ पदाधिकारी, ३०१ सदस्यीय केन्द्रीय कमिटी

महाधिवेशनपछि एमालेमा १९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । अध्यक्ष ओलीले पदाधिकारी थप्न ल्याएको प्रस्ताव बन्दसत्रबाट पारित भएको हो ।

ओलीइतरपक्षले असहमति राखे पनि बन्दसत्रको हलले ध्वनी मतका आधारमा ओलीको प्रस्ताव पारित गरेपछि एमालेमा पदाधिकारीको संख्या १५ बाट १९ पुगेको छ । आफू निकट नेताहरूको व्यवस्थापन सहज बनाउन ओलीले पदाधिकारी थप्न खोजेका हुन् । ओलीको चाहना बुझेका वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराई पदाधिकारी थप्ने प्रस्तावको विपक्षमा उभिएका थिए ।

एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद हुने छैन । एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र नौ सचिव गरी पदाधिकारी १९ बनाउन निर्णय केन्द्रीय कमिटीबाट गरिएको हो, जसमा ३३ स्थायी कमिटी र ९९ पोलिटब्युरो र ३०१ केन्द्रीय सदस्य हुनेछन् ।

बन्दसत्रमा ओलीको निसानामा विद्या !

अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा पूर्वराष्ट्रपति विद्या भण्डारीमाथि कटाक्षका निसाना साँधे । महाधिवेशनको प्रतिस्पर्धामा ईश्वर पोखरेल ओलीको विरूद्ध खडा छन् । पोखरेलको पछाडि विद्या छिन् । त्यसैले ओलीले पोखरेलभन्दा बन्दसत्रमा भण्डारीमाथि आक्रोस पोखे ।

उनले पार्टी पूर्वउपाध्यक्ष भण्डारी पार्टीमा आउने नै भए पार्टीमा निवेदन दिनुपर्ने बताए । भृकुटीमण्डपमा जारी बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष पोखरेलले भण्डारीको सदस्यताको कुरा उठाएपछि ओली कड्किएका हुन् ।

‘उहाँले पार्टीलाई घृणा गरेर, मन नपरेर सदस्यता छाडेको हैन । पार्टीप्रति सम्मान र माया नै थियो । राष्ट्रपति हुँदा संवैधानिक व्यवस्थाका कारण साँच्चै छाड् नुभएको हो । हामीले दुनियाँलाई ढाँट्नुपर्दैन । फर्किएर आए पनि भावनामा हैन, यथार्थमा चल्नुपर्छ विद्या भण्डारीको ७ वर्षको कार्यकालको सदस्यता दोहोरिँदैन,’ अध्यक्ष ओलीले भने, ‘त्यो अघि एमालेको नेता हुनुन्थ्यो, त्यसपछि हुन सक्नुहोला तर त्यो अवधिमा उहाँ राष्ट्रको नायक हो । त्यो बीचको सदस्यता जोड्नु भनेको कानुनसँगको खेलबाड हो । लिन मन छ भने म सदस्य हुन चाहन्छु भनेर पार्टीमा निवेदन दिनुपर्‍यो ।’

पोखरेलले बन्दसत्रमा छलफलका लागि ल्याएको अवधारणापत्रमा पनि भण्डारीलाइ पार्टीमा फर्काउनुपर्ने लेखेका छन् । ’पोलिटिक्स गर्छु भन्नुहुन्छ, कस्ले रोकेको छ ? गरिरहनुभएको छ त,’ ओलीले भण्डारीमाथि कटाक्ष गर्दै भने । 

सल्लाघारीमा उद्घाटनसत्रमा मञ्च नपाएका वरिष्ठ उपाध्यक्ष पोखरेलले बन्दसत्रमा भने आफ्ना कुरा राखे । पूर्वराष्ट्रपति एवं पार्टी पूर्व उपाध्यक्ष भण्डारीलाई पार्टीमा आउन नदिनु गलत भएको उनको भनाइ थियो । ‘केन्द्रीय उपाध्यक्ष भइसकेको व्यक्ति र आउँछु भनेपछि आउन पाउँदैनौँ भन्नु कति विवेकसम्मत ? बिल्कुल त्यो गलत हो त्यसरी भनिनु हुँदैन,’ उनले भने, ‘नआउनुस् भन्न सकिन्छ, आउन उचित हुँदैन भन्न सकिन्छ । तर, आउँछु मेरो घर हो । म जहाँ जन्मिएँ, हुर्किएँ त्यही ठाउँमा मेरो अन्तिम जीवन बिताउँछु भन्दा इस्यू थिएन नन् इस्यूलाई इस्यू बनाइयो । यो गरिनु उचित थिएन ।’ बन्दसत्रमा अरू विषयभन्दा भण्डारीकै विषय केन्द्रमा रहेको सहभागीले जानकारी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्