नेभिगेशन
प्रदेश

खोरसोरका दुई हात्ती बुधबार कतार जाँदै

चितवन । हात्तीका दुई छावाले चितवनबाट यही साता कतारको यात्रा गर्ने भएका छन् । दुवै चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका हुन् । केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई आगामी बुधबार कतार पठाउन लागिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा हरिभद्र आचार्यका अनुसार दुई हात्तीलाई भैरहवा विमानस्थलबाट पठाउने तयारी छ । चार्टर कार्गो विमानमार्फत हात्ती पठाइने जानकारी उनले दिए । जहाजको समय मिलाएर बाटोको अवस्था हेरी सौराहाबाट अघिल्लो दिन हात्ती लगिने छ ।

कतारको दोहास्थित अलखोर पार्कको चिडियाखानामा राख्नका लागि यी हात्ती पठाउन लागिएको हो । रुद्रकली सात वर्ष र खगेन्द्र प्रसाद ६ वर्षका छावा हुन् । रुद्रकली पूजाकली र खगेन्द्र कोशीकलीको बच्चा हो । खगेन्द्र र रुद्रको बाबु जंगली भाले हात्ती रोनाल्डो भएको हात्ती प्रजनन केन्द्रका प्रमुख मनिपुरण चौधरीले जानकारी दिए ।

हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका पोथी हात्ती जंगली भाले हात्ती रोनाल्डो, ध्रुवे, गोविन्देजस्ता शक्तिशाली हात्तीसँगको सहवासमा गर्भवती हुने गर्दछन् । सरकारले हात्ती दिने निर्णय गरेपछि सबै प्रक्रिया पूरा गरी पठाउन लागिएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले हात्तीको नाप गरी हात्ती राख्न खोर निर्माण गरेको छ । खोरसहित ट्रकमा राखेर सौराहाबाट अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनी लगिनेछ । लुम्बिनीबाट कार्गो विमानमा राखी कतार लगिनेछ । हात्तीसँगै निकुञ्जका पशु प्राविधिक दिनेश ढकालको नेतृत्वमा दुई जना हात्तीका माउते पनि कतार जाँदैछन् ।

उनीहरूले हात्तीले त्यहाँ व्यवस्थापन मिलाएर फर्कनुहुनेछ । यसअघि नेपालले विभिन्न मित्र राष्ट्रलाई एकसिङे गैंडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबीचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्व अन्तर्राष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिइँदै आइएको छ । आचार्यका अनुसार पहिलो पटक नेपालले हात्ती उपहारस्वरुप अन्य देशमा पठाउन लागिएको हो ।

विसं २०४४ मा भारतबाट १६, म्यानमार दुई र थाइल्यान्डबाट दुई गरी २० हात्तीबाट स्थापना गरिएको हात्ती प्रजनन केन्द्रले अहिलेसम्म ६८ हात्तीलाई जन्म दिइसकेको छ । यहाँ ६१ वटालाई तालिम दिइएको केन्द्रले जनाएको छ । यहाँ जन्मिएकामध्ये ६ वटाको मृत्यु भएको छ ।

यसअघि नेपालले सन् १९८५ देखि हालसम्म विभिन्न देशलाई २६ गैंडा, १० घडियाल गोही, एक ब्वाँसो र दुई चितुवा उपहार दिइसकेको तथ्यांक छ । २०७५ सालमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा नेपालले हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो । उक्त प्रतिबद्धतापछि कतार सरकारको कूटनीतिक निकायबाट माग भएअनुसार प्रक्रिया अघि बढाएर हात्ती पठाउन लागिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्