नेभिगेशन
प्रदेश

अवैध काठ बरामद

सुदूरपश्चिम – कैलालीको चुरे गाउँपालिका–५ स्थित बासपानी सामुदायिक वन क्षेत्रबाट अवैधरूपमा कटान गरिएको १२८ क्यू फिट काठ बरामद गरिएको छ । डिभिजन वन कार्यालय धनगढीबाट खटिएको टोलीले आज चुरे पहाडी क्षेत्रको उक्त वन क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त काठ बरामद गरेको हो । कार्यालय प्रमुख रामविचारी ठाकुरले भने, ‘चुरे क्षेत्रमा व्यापकरूपमा काठको चोरी तस्करी भइरहेको सूचना पाएपछि गस्ती टोलीले सालको काठ बरामद गरेको हो ।’

जंगलभित्र हातेआरा प्रयोग गरी चिरान गरेर तस्करले सिस्नु र बाँसको झाङमा लुकाएको अवस्थामा उक्त काठ बरामद गरिएको हो । काठ तस्करीमा संलग्न व्यक्तिको खोजतलास भइरहेको वन अधिकृत ठाकुरले बताए । सबैभन्दा बढी वन क्षेत्र रहेको कैलाली जिल्लामा पछिल्ला वर्षमा वन फडानी र तस्करी बढ्दै गए पनि रोकथामको प्रभावकारी पहल नभएको जनगुनासो छ । खासगरी जिल्लाका विभिन्न सडक क्षेत्र आसपासमा रहेको वन क्षेत्र फडानी गरेर बस्ती बस्ने गरेको छ ।

स्थानीय उपभोक्तालाई हस्तान्तरण गरिएका जिल्लाका अधिकांश सामुदायिक वनको संरक्षण, संवर्धन एवं व्यवस्थापनको काम भने नमूनाका रूपमा रहेको छ । यसैबीच प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले वन पैदावार बिक्री वितरण लगाइएको प्रतिबन्ध आज फुकुवा गरिएको जनाएको छ । वन पैदावार बिक्री वितरण प्रतिबन्ध लगाउँदा जिल्लाका सामुदायिकलगायत वनमा संकलन गरी घाटगद्दी गरिएको ठूलो परिमाणको काठ कुहिने अवस्थामा पुगेको थियो । विभिन्न सामुदायिक वनका उपभोक्ता समितिले सरकारले वनपैदावार बिक्रीमा लगाएको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै आएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्