नेभिगेशन
प्रदेश

बीपी उद्यानमा अनधिकृत व्यवसायमाथि बन्देज

वीरगंज । वीरगंज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बीपी उद्यान अतिक्रमण गरेर अस्थायीरूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहरमा रहेका फलफूल, तरकारी तथा अन्य पसल हटाएर उद्यानलाई थप व्यवस्थित गर्न लागेको महानगर प्रमुख राजेशमान सिंहले बताए ।

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । ‘अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने काम गरेका छौं । यहाँ व्यापार गर्दै आएकाहरूले सरसमान हटाउने काम गरिरहेका छन्,’ महानगर प्रमुख सिंहले भने । यहाँ अस्थायी घरटहरा, तरकारी, फलफूल तथा कपडा पसल र विभिन्न खानाका स्टल गरी करिब दुई सय ५० भन्दा बढीले व्यापार गरिरहेका थिए । महानगर प्रमुख सिंहले अब करिब रु ७० करोड रकम खर्चेर सुन्दर र हरियाली पार्क बनाउने योजना अघि बढाउने बताए । यहाँबाट हटाइएकाहरूका लागि छपकैयाँस्थित रेल्वे सडकमा आवश्यक संरचना तयार गरिएको उनले जनाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्