चितवन । नेपालको एक प्रसिद्ध धार्मिकस्थल देवघाटधामलाई प्लास्टिक मुक्त बनाउने पहल थालिएको छ । प्लाष्टिकका झोला तथा थैलीहरूले फोहोर बढाउँदै लगेको हुँदा फोहरमैला व्यवस्थापनका लागि ‘प्लाष्टिक मुक्त देवघाट’ बनाउने अभियान थालिएको छ ।
चितवन, तनहुँ र नवलपरासी (बर्दघाट सुस्तापुर्व) गरी तीन जिल्लाको सीमानामा रहेको देवघाटधाममा विभिन्न तिथिहरूमा तीर्थालुहरूको बाक्लै भीड लाग्ने गर्छ । चितवनको भरतपुर महानगरपालिका, तनहुँको देवघाट गाउँपालिका र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैंडाकोट नगरपालिकासँगको सहकार्यमा देवघाटधामलाई प्लाष्टिकमुक्त बनाउने पहल थालिएको बताइएको छ । अभियानको नेतृत्व देवघाट क्षेत्र विकास समितिले गरेको छ । देवघाटधामलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्ने तयारी अघि बढेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष ईश्वरीराज लौडारीले बताएका छन् । ‘सबै प्रक्रिया पुरा गररे शीघ्र नै हामी प्लाष्टिकमुक्त देवघाटधाम घोषणा गर्ने तयारीमा छौं,’ उनले भने ।
सहमतिको ‘नदीसँग हामी’ परियोजनाअन्तर्गत नदी सरसफाइलाई जोड्दै देवघाटधामलाई प्लाष्टिक र अन्य फोहरमुक्त क्षेत्र घोषणा गर्न लागिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जनाए । तीनवटै पालिकाका वातावरण शाखाका प्रतिनिधि, वडा प्रतिनिधि र क्षेत्र विकास समितिबीच प्लास्टिक मुक्त अभियान सञ्चालनका लागि आवश्यक साझा कार्यक्रम र नीति बनाउने काम धमाधम भइरहेको यो अभियानलाई सघाइरहेको सहमति संस्थाका तारानाथ सुवेदीले बताए । सहमतिले चितवन र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) दुवैतर्फ नारायणी नदी किनारमा हुने फोहोरको अध्ययन समीक्षा गरेको थियो । ‘अध्ययनमा प्लाष्टिकजन्य फोहोर अत्याधिक पाइएको छ,’ वातावरण सुधारका क्षेत्रमा कार्यरत इन्जिनियर सागर कार्कीले भने । भरतपुर महानगरपालिकाले देवघाटलाई प्लाष्टिकमुक्त बनाउने कार्यक्रम नगर परिषदबाटै पारित भएको जनाउँदै इन्जिनियर कार्कीले भने, । ‘विद्यमान नीतिगत व्यवथालाई कार्यान्वयन गर्दा मात्र पनि धार्मिक स्थल तथा अन्य स्थलहरू प्लाष्टिक मुक्त र फोहर मुक्त हुन सक्छ ।’
देवघाटधाम नुहाउन, पुजा गर्न तथा दिवंगतहरूको दाहसंस्कारका लागि टाढादेखिका मान्छेहरू आउने गर्छन् । देवघाट क्षेत्र ५४३ हेक्टरमा फैलिएको छ । दामोदरकुण्ड मुहान भएको कालिगण्डकी र गोसाइकुण्डबाट बग्दै आउने त्रिशुली नदीको मिलन देवघाटधाममा भएको छ । कालिगण्डकी र त्रिशुलीको संगममा देवताहरू पनि स्नान गर्न आउने धार्मिक विश्वास रहेका कारण यो क्षेत्र हिन्दु धर्ममा आस्था राख्नेहरूका लागि महत्वपूर्ण तीर्थस्थल मानिन्छ । ‘हाम्रो अनुरोध छ अब देवघाट आउँदा प्लाष्टिक ल्याउँदै नल्याउनुस् । फोहोर गरेर, नदी र माटो बिगार्ने प्लाष्टिक प्रयोग गरेर कसरी धर्म होला र ?,’ लौडारीले प्रश्न गरे ।