नेभिगेशन
विश्व

भारतद्वारा बंगलादेशको आरोप अस्वीकार

नयाँ दिल्ली – भारत सरकारले बंगलादेशको अन्तरिम सरकारले हालै सार्वजनिक गरेको दाबीलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ र बंगलादेशमा स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय चुनावका लागि आफ्नो समर्थन पुनः पुष्टि गरेको छ । दुई छिमेकी मुलुकबीच कूटनीतिक आदानप्रदान तीव्र भइरहेका बेला भारतको यो प्रतिक्रिया आएको हो ।

भारतीय विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा ‘१४ डिसेम्बर २०२५ को प्रेस नोटमा बंगलादेशको अन्तरिम सरकारले गरेको दाबीलाई भारतले स्पष्ट रूपमा अस्वीकार गर्दछ’ भनिएको छ । उक्त प्रतिक्रिया बङ्गलादेशको विदेश मन्त्रालयले पूर्व प्रधानमन्त्री शेख हसिनाले विदेशबाट हिंसा भड्काएको आरोप लगाउँदै भारतीय उच्चायुक्तलाई बोलाएको केही समयपछि आएको हो । भारतले आफ्नो दीर्घकालीन अडान दोहोर्‍याउँदै बंगलादेशमा शान्तिपूर्ण वातावरणमा स्वतन्त्र, निष्पक्ष, समावेशी र विश्वसनीय चुनाव हुनुपर्नेमा जोड दिएको छ । विदेश मन्त्रालयका अनुसार भारतले कहिल्यै पनि आफ्नो भूभाग बंगलादेशका मित्रवत जनताको हितविरुद्ध हुने गतिविधिका लागि प्रयोग गर्न अनुमति दिएको छैन ।

विज्ञप्तिमा भारतले बंगलादेशको अन्तरिम सरकारले आन्तरिक कानून व्यवस्था कायम राख्दै शान्तिपूर्ण चुनाव सम्पन्न गराउन आवश्यक सबै कदम चाल्ने अपेक्षा व्यक्त गरेको छ । यसअघि बंगलादेशले भारतमा रहेका शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमलको सुपुर्दगीको माग गर्दै उहाँहरूले हिंसा भड्काएको र आगामी चुनावमा बाधा पुर्‍याउने प्रयास गरेको आरोप लगाएको थियो । ढाकाले भारतमा रहेका अवामी लिगका केही सदस्यले बंगलादेशविरुद्ध गतिविधि गरिरहेको दाबीसमेत गरेको छ ।

बंगलादेशको विदेश मन्त्रालयका अनुसार ती गतिविधिहरूमा चुनावी प्रक्रियामा अवरोध पुर्‍याउन आतंकवादी कार्यहरूको योजना, सङ्गठन र सहयोगसमेत रहेको आरोप छ । साथै, बङ्गलादेशी राजनीतिक नेता सरिफ उस्मान हादीको हत्या प्रयासमा संलग्न संदिग्धहरू भारत भाग्न नपाउन् भनी सहयोग मागिएको छ । बंगलादेशका अनुसार भारतीय उच्चायुक्तले भारत बंगलादेशमा शान्तिपूर्ण चुनावका लागि प्रतिबद्ध रहेको र आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्