नेभिगेशन
अर्थतन्त्र

एनपीएलका तीन खेलाडीलाई पल्सर

काठमाडौं – गोल्छा ग्रुपको हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपाल प्रिमियर लिग (एनपीएल)का तीन उत्कृष्ट खेलाडीलाई पल्सर मोटरसाइकल प्रदान गरेको छ । एनपीएल दोस्रो संस्करणको ‘टु ह्विलर पार्टनर’ रहेको कम्पनीले शनिबार खेलाडीलाई पल्सर एन १६० मोटरसाइकल प्रदान गरेको हो । रोहितकुमार पौडेल, सन्दीप लामिछाने र शेर मल्लले पल्सर मोटरसाइकल पाएका हुन् । एनपीएल दोस्रो संस्करणको उपाधि जितेको लुम्बिनी लायन्सका कप्तान तथा सबैभन्दा बढी रन बनाएका पौडेलले कुल २ सय ७६ रन बनाएका थिए । विराटनर किंग्सका कप्तान लामिछानेले १७ विकेट हात पारेका थिए । यस सिजनकै इमर्जिङ प्लेयरको उपमा पाएका लुम्बिनीका मल्लले पनि १७ विकेट लिएका थिए ।

‘कम्पनीले खेललाई सधैं प्राथमिकतामा राख्दै आएको छ, सम्झौताअनुसार उत्कृष्ट खेलाडीलाई पल्सर मोटरसाइकल दिन पाउनु खुसीको कुरा हो, ब्रान्डलाई खेलसँगै जोडेर अघि बढाउन हामी सधैं प्रतिबद्ध छौं’ गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने । यसअघि कात्तिक १३ गते गोल्छा ग्रुप र नेपाल क्रिकेट संघ(क्यान)बीच एनपीएलका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने सम्झौता भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्