नेभिगेशन
अर्थतन्त्र

पत्रकारलाई क्षमता अभिवृद्धि तालिम

काठमाडौं – जर्मन सहयोग नियोग (जीआईजेड) को सहयोगमा सञ्चालित ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जामार्फत पुनर्प्राप्ति एवम् सशक्तीकरण (रिप– ग्रीन)’ले ऊर्जा पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि तालिम दिएको छ । कार्यक्रमले राजधानीमा रही विभिन्न राष्ट्रिय सञ्चार माध्यममा कार्यरत पत्रकारहरूलाई दुई दिने तालिम दिएको हो ।

काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा मंसिर २६ र २७ गते भएको तालिममा २१ जना पत्रकारलाई १० जना विषय विज्ञले प्रशिक्षित गरेका थिए । कार्यक्रममा नेपालको ऊर्जा क्षेत्रको विषयका लागि कानूनी तथा प्रक्रियागत झमेला घटाउनुपर्ने , एकद्वार नीतिमा अघि बढ्नुपर्ने , दोहोरिएका नियामकीय कानून तथा निकायलाई खारेज गरी एकीकृत अवधारणाअनुसार कार्यान्वयन हुनुपर्ने मा प्रशिक्षण दिइएको थियो ।

समग्र ऊर्जा क्षेत्रको विकासका लागि सही सूचना तथा तथ्य सम्प्रेषणमा पत्रकारको भूमिका महत्त्वपूर्ण हुने भएकोले उनीहरूको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिएको आयोजक रिप–ग्रीनका वरिष्ठ ऊर्जा विज्ञ डा. नारायण चौलागाईले बताए । यस्तै विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले ‘नियामकीय उपकरण, नीतिहरू र क्षेत्रगत सुधार’, नेपाल सरकारका पूर्वसचिव दिनेशकुमार घिमिरेले ‘नीतिगत सुधार, विद्युत् विधेयक तथा कार्यान्वयनका चुनौतीहरू’, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताका लागि भायबलिटी ग्याप फन्डिङको भूमिका’ विषयमा प्रशिक्षण दिएका थिए ।

त्यस्तै, नेपाल विद्युत् प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक शेरसिंह भाटले ‘ऊर्जा क्षेत्रका प्राविधिक, कानूनी तथा सीमापार आयाम’, ग्रीन इनर्जी आन्ट्रप्रेनर्स नेपाल (ग्रीन) का अध्यक्ष सूर्यप्रसाद अधिकारीले ‘संस्थागत कार्यक्षमता र निजी क्षेत्रका सरोकार’, नवीकरणीय ऊर्जा परिसंघ नेपालका अध्यक्ष ऊर्जाविद् कुशल गुरुङले ‘जलवायु कार्य, कोपका उपलब्धि र कार्बन व्यापार’ विषयमा प्रशिक्षण दिए ।

त्यस्तै, कानूनविद् सेमन्त दाहालले ‘ऐन, नियमावली, विनियमावली तथा निर्देशिका: तुलनात्मक विश्लेषण तथा सम्बन्धित पक्षका सरोकार’ एनएमबि कैंकका दिगो बैंकिङ प्रमुख दिनेश दुलालले ‘बैंकिङ क्षेत्र, लगानीका चुनौती तथा वित्तीय नीतिहरू’, नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले ‘पुँजी बजार नियमन तथा ऊर्जा क्षेत्रका पब्लिक कम्पनीको नतिजा,’ विज्ञ डा. नारायण चौलागाईंले ‘ऊर्जा व्यवस्थापन, दक्षता तथा कार्बन उत्सर्जन न्यूनीकरण’जस्ता विषयमा प्रशिक्षण दिएका थिए ।

तालिमको समापन समारोहमा आफ्नो धारणा राख्दै रिप–ग्रीनका वरिष्ठ ऊर्जा विज्ञ चौलागाईंले ‘सूचना नदिनु भन्दा गलत सूचना दिनु घातक हुने’ भएकाले ऊर्जा क्षेत्रमा कलम चलाउने पत्रकारहरूले सही तथ्य, तथ्यांक तथा सूचनाको सम्प्रेषणमा जोड दिनुपर्ने  बताए । पत्रकार लक्ष्मण वियोगीले सञ्चालन गरेको कार्यक्रममा पत्रकारहरू कृष्ण अधिकारी, रामप्रसाद पुडासैनी, सुनिता कार्की लगायतले यस्तो तालिमले पत्रकारहरूलाई दक्ष बनाउँदै लैजाने बताए । उनीहरूले ‘फिलड रिपोर्टिङ’मा पत्रकारले धेरै मेहनत गर्नुपर्ने  धारणा पनि राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्