नेभिगेशन
अर्थतन्त्र

अर्थतन्त्रमा हस्तकलाको योगदान बढ्दै

काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले नेपालको अर्थतन्त्रको विकासमा हस्तकला क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।

नेपाल हस्तकला महासंघको ५३औं स्थापना दिवस तथा १४औं हस्तकला दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले अर्थतन्त्रको विकासमा हस्तकला क्षेत्र महत्त्वपूर्ण हुने भन्दै यसको विकासका लागि सरकारले सहयोग गर्ने बताए ।

‘नेपालको कला र संस्कृतिका रूपमा रहेको हस्तकला क्षेत्रको आफ्नो विशिष्ट पहिचान रहेकाले यसको विकासमा सरकारले निरन्तर सहयोग रहन्छ,’ मन्त्री सिन्हाले भने ।

हस्तकला क्षेत्रमा आवश्यक पर्ने नीतिगत र प्रक्रियागत समस्यालाई सरकारले क्रमशः हल गर्दे लैजाने उनले बताए । बागमती प्रदेशका उद्योग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री विन्दु श्रेष्ठले प्रदेश सरकार पनि हस्तकला क्षेत्रको विकासका लागि निरन्तर लाग्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष अञ्जनकुमार श्रेष्ठले राष्ट्रको पहिचान भनेको कला, संस्कृति भएकाले यसको संरक्षण र संवर्धनमा सबै लाग्नुपर्ने बताए । उनले शिक्षालाई जागिरभन्दा रोजगारमूलक र व्यवसायमूलक बनाउँदै अगाडि बढाउनुपर्नेमा जोड दिए ।

महासंघका अध्यक्ष रवीन्द्र शाक्यले मौलिक र सांस्कृतिक परम्परालाई जीवन्त राख्न आफूहरूले निरन्तर काम गर्दै  आइरहेको बताए । अध्यक्ष शाक्यले वार्षिक २५ देखि ३० अर्बको हस्तकला निर्यात हुँदै आएको अवस्थामा सरकारले हस्तकला क्षेत्रलाई प्राथमिकता दिन नसकेको बताए ।

कार्यक्रममा हस्तकला क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने ७२ वर्ष उमेरभन्दा माथिका अग्रज कलाकारलाई सम्मान गरिएको थियो ।

यस्तै, धेरै निर्यात गर्ने  व्यक्ति तथा कम्पनीलाई सम्मान गरिएको थियो । ५३ वर्ष पहिले स्थापना भएको महासंघमा हाल चार हजार ५ सय व्यवसायी तथा कालिगढ आबद्ध छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्