नेभिगेशन
अर्थतन्त्र

नाइमाको पहिलो साधारणसभा

काठमाडौ – नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले गत बिहीबार आफ्नो पहिलो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । नाइमाको कार्यालय, कमलपोखरीमा आयोजित सभा अध्यक्ष रितु सिंह वैद्यको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभाले संस्थाको स्थापनादेखि हालसम्मका प्रमुख उपलब्धि र सिकाइहरूको समीक्षा गर्दै आगामी वर्षका कार्यक्रम, संस्थागत संरचना तथा रणनीतिक योजनाहरू औपचारिकरूपमा पारित गरेको छ ।

सभालाई सम्बोधन गर्दै  अध्यक्ष वैद्यले छोटो अवधिमै नाइमा देशको मोबिलिटी क्षेत्रको एकीकृत र सशक्त आवाजका रूपमा स्थापित हुन सफल भएको बताइन् ।

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम तथा वित्तीय प्रतिवेदन र आगामी वर्षको कार्यक्रम तथा वित्तीय योजना प्रस्तुत गरेका थिए । उनले दीर्घकालीन उद्देश्य हासिल गर्न प्रभावकारी कार्ययोजना, पारदर्शिता र जिम्मेवार वित्तीय व्यवस्थापनप्रति संस्थाको प्रतिबद्धता दोहोर्‍याए ।

सभामा सहभागी सदस्यहरूले नाइमाले सक्रिय र प्रभावकारीरूपमा गर्दै आएको कामको प्रशंसा गर्दै आपत्कालीन अवस्थामा राज्यका निकायलाई सहयोग गर्न पाउँदा गर्व महसुस भएको बताए । सभाले आर्थिक वर्ष २०८२/८३ का कार्यक्रमहरू पारित गरेको छ, जसअन्तर्गत नियमित मोबिलिटी संवाद, क्षमता अभिवृद्धि तालिम, क्षेत्रगत अध्ययन तथा अनुसन्धान, नीतिगत बहस तथा पैरवी र नाइमा एक्सपो २०२६को आयोजना समावेश छन् । नाइमाले आगामी वर्ष साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा एक्सपो आयोजना गर्ने तयारी गरेको छ ।

संस्थागत सुदृढीकरण अन्तर्गत सदस्य आकाश गोल्छाको नेतृत्वमा स्ट्राटेजी तथा मेम्बरशिप अफेयर्स कमिटी गठन गरिएको छ । साथै मेगाटेक ग्रुप प्रालिलाई नयाँ सदस्यका रूपमा स्वागत गर्दै  कम्पनीका सुरेश लोहनीलाई रिसर्च, मिडिया तथा डेटा कमिटीको सदस्यमा मनोनयन गरेको छ ।

सभाको समापन गर्दै अध्यक्ष वैद्यले सबै सदस्यप्रति धन्यवाद व्यक्त गर्दै  नेपाली मोबिलिटी क्षेत्रको दीर्घकालीन उन्नतिका लागि नाइमाले निरन्तर सक्रिय भूमिका खेलिरहने प्रतिबद्धता व्यक्त गरिन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्