नेभिगेशन
अर्थतन्त्र

शेयरबजार २६ सयभन्दा तल

काठमाडौं – शेयरबजार आइतबार दोहोरो अंकले घटेर बलियो सपोर्ट विन्दु २६०० भन्दा तल ओर्लिएको छ । कारोबार मापन नेप्से परिसूचक १२.५० विन्दुले घटेर २,५९४.८७ विन्दुमा झरेको छ ।

कारोबार भएका २५९ कम्पनीमध्ये १९७ वटाको शेयरमूल्य घट्दा बजार दबाबमा परेको हो । बजार घटे पनि यसदिन ५६ कम्पनीका शेयरधनीले कमाएका छन भने ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

चार अर्ब ७४ लाख ५५ हजार रुपैयाँ बराबरको एक करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर किनबेच भएको छ ।

सूचीकृत १३ समूहमध्ये बैंकिङ र म्युचुअल फण्डबाहेक सबै घटेका छन् । बैंकिङ समूह ०.०४ प्रतिशत र म्युचुअल फण्ड ०.५१ प्रतिशत बढेको छ । सबैभन्दा धेरै जलविद्युत समूह ०.९३ प्रतिशत घटेको छ । त्यसपछि होटल तथा पर्यटन समूह ०.८८ प्रतिशत, जीवन बीमा ०.८७, फाइनान्स ०.७२, उत्पादन तथा प्रशोधन ०.७१, लगानी ०.६७, व्यापार ०.५९, अन्य ०.४५, निर्जीवन बीमा ०.३३ र लघुवित्त ०.२५ प्रतिशत घटेका छन् ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एसवाई प्यानलको शेयरमूल्य पनि ९.९८ प्रतिशत बढेर ४२५.४० रुपैयाँ पुगेको छ । सबैभन्दा बढी सिटी होटल लिमिटेडको शेयर मूल्य ६.२६ प्रतिशत घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको संस्थापक शेयर २६ करोड १८ लाख ५५ हजार ९३० रुपैयाँको २४ लाख ९३ हजार ८६६ कित्ता किनबेच भएको छ ।

लगानीकर्ताको सम्पत्ति २१ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ४३ खर्ब ५६ अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण पनि ६ अर्ब रुपैयाँ घटेर १४ खर्ब ७२ अर्ब रुपैयाँ कायम भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्