नेभिगेशन
राजनीति

‘कांग्रेसले एकपटक गल्ती कमजोरी सुधार्नु छ’

पाटन (ललितपुर)। कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई देश जोगाउने अभिभारा रहेकाले सबैलाई समेटेर अघि बढ्ने बताएका छन् । कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्वपूर्ण राष्ट्रिय शक्ति भएको उनले उल्लेख गरे ।

पार्टीको ललितपुर जिल्ला कार्य समितिले नखिपोटमा सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा महामन्त्री थापाले राष्ट्रिय शक्तिसँग राष्ट्रिय जिम्मेवारी हुन्छ भन्दै राष्ट्रिय शक्ति चुक्दा त्यसको मूल्य देशले समेत चुकाउनुपरेको बताए ।

‘कांग्रेसलाई केवल निर्वाचनका लागि मात्रै शक्ति चाहिएको हैन, देशलाई निकास दिनका लागि पनि शक्ति आवश्यक छ, कांग्रेस पार्टी मात्रै हैन राष्ट्रिय शक्तिसमेत हो, तसर्थ कांग्रेसलाई हिम्मत र साथ आवश्यक छ,’ उनले भने, ‘विगतमा कांग्रेसले देशलाई हिंसाबाट बाहिर ल्यायो, नेपाली कांग्रेस आफू हारेर पनि देशलाई जिताउने पार्टी हो भनेर प्रमाणित गरेको छ । कांग्रेसले सबैलाई समेट्ने प्रयास गरेको छ ।’

निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो भन्दै महामन्त्री थापाले कांग्रेसले राम्रो काम गरे मतदाताले आफै पछ्याउने बताए । भीडलाई उचाल्ने र उत्तेजित बनाउने काम कांग्रेसको हैन भन्दै उनले कुशासनबाट आजित भएका नागरिकलाई सम्हालेर देशलाई सुशासन तथा विकासको उचाइमा पुर्‍याउने जिम्मेवारी रहेको बताए । ‘कांग्रेसले फेरि एकपटक देशलाई सम्हाल्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने छ, गल्ती कमजोरी सुधार्नुपर्ने छ,’ उनले भने । विगतमा पार्टी छोडेकाहरूको पार्टी पुनरागमनले कांग्रेसले शक्ति हासिल गर्ने महामन्त्री थापाको भनाइ थियो ।

कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठले विगतको स्थानीय चुनावमा कांग्रेसले जिल्लाभर ५६ प्रतिशत जित हासिल गर्न सफल भएको उल्लेख गर्दै यसपटक कांग्रेसले थप उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्