म्याग्दी – धवलागिरि गाउँपालिका–३ मुनामा आइतबार सम्पन्न पालिकास्तरीय बाल कचहरीबाट बाल अधिकारको सुनिश्चितता, संरक्षण तथा प्रवद्र्धन र बाल–विवाह न्यूनीकरणका लागि १० बुँदे घोषणापत्र जारी भएको छ ।
बाल क्लबका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षकसम्बद्ध संघसंस्था र सरोकारवालाबीच धवलागिरि गाउँपालिकामा रहेको बालबालिकासम्बन्धी समस्या र समाधान उपायका विषयमा छलफल गरी घोषणापत्र जारी भएको हो ।
बाल–विवाह, विभेद, बाल मजदुरजस्ता सामाजिक कुसंस्कारविरुद्ध सामूहिक आवाज उठाउन र त्यस्ता घटनाको न्यूनीकरणमा कटिबद्ध भएर लाग्ने, बालबालिकाको बाँच्न पाउने, संरक्षण, विकास र सहभागिताको नैसर्गिक अधिकारको पालनामा संवेदनशील र कार्यान्वयनमा प्रतिबद्ध रहने घोषणापत्रमा उल्लेख छ ।
विद्यालयमा बालमैत्री वातावरण र भौतिक संरचनालाई बालमैत्री बनाउने, विद्यालयमा सरकारले उपलब्ध गराउने सेनेटरी प्याडको गुणस्तरमा ध्यान दिने, बालविवाह गर्ने र गराउनेलाई कानूनी दायरामा ल्याउने, गुणस्तरीय शिक्षा कायम गराउने, बालबालिकामा अन्तरनिहित प्रतिभा प्रस्फुटनको अवसर दिलाउने प्रतिबद्धता जनाइएको छ । विद्यालयमा दिवा खाजालाई पोषणयुक्त बनाउन विद्यालयमै करेसाबारी बनाउने, विद्यालय तथा समुदायमा हुने सबै किसिमका विभेद तथा भेदभावविरुद्ध शून्य सहनशीलताको रणनीति अपनाइने घोषणापत्रमा उल्लेख छ ।
गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नं ३ का अध्यक्ष देवेन्द्र रोकाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बाल–अधिकारको संरक्षण र बाल–विवाह न्यूनीकरणमा जोड दिएको बताउँदै दिवाखाजा र छात्राबासका लागि आवश्यक तरकारी विद्यालयमै उत्पादन गर्ने अभ्यास सुरु भएको जनाए ।
कार्यक्रममा सहभागी धवलागिरि मावि; मुना, बुद्धि विकास मावि; मुदी, हेम नमूना आवासीय मावि र ताकम माविका छ–छ जना विद्यार्थीले जनप्रतिनिधि र सरोकारवालालाई गाउँपालिकामा बालअधिकारसम्बन्धी कार्यक्रम, बाल–विवाह न्यूनीकरण, विपन्न विद्यार्थीको शिक्षामा पहुँच, शैक्षिक गुणस्तरलगायतका विषयमा जिज्ञासा राखेका थिए । गाउँपालिकाका उपाध्यक्ष पुन, सामाजिक विकास समितिका संयोजक रोका, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा, स्वास्थ्य शाखा प्रमुख सम्झना खाती, शिक्षा शाखा प्रमुख ख्यामराज सुवेदी, महिला बालबालिका शाखाका पुष्पा दवाडी, ताकम प्रहरी चौकीका प्रमुख विक्रम तिवारीले जिज्ञासाको जवाफ दिएका थिए ।