नेभिगेशन
विश्व

१६ जनाको हत्यापछि अष्ट्रेलियाले बन्दुक नियन्त्रण गर्दै

सिड्नी – अष्ट्रेलियाको सिड्नीस्थित बोंडी बिचमा यहूदीहरूको प्रख्यात पर्व हनुक्कालाई लक्षित गरी भएको सामूहिक गोलीकाण्डमा कम्तीमा १६ जनाको मृत्यु भएपछि अष्ट्रेलियाका संघीय र राज्य सरकारका नेताहरूले सोमबार राष्ट्रिय बन्दुक नियन्त्रण कानूनहरूलाई तत्काल परिमार्जन गर्न सहमत भएको बताएका छन् ।

यसअघि सन् १९९६ मा तस्मानियामा एक जना बन्दुकधारीले ३५ जनाको हत्या गरेपछि द्रूत गतिमा फायर हुने राइफलहरूलाई लगभग प्रतिबन्ध लगाउने ऐतिहासिक राष्ट्रिय बन्दुक सम्झौतालाई पुनः वार्ता गर्ने लगायतका कदमहरू चाल्ने नौ जना नेताहरूले आपतकालीन बैठकपछि जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।

यतिबेला अष्ट्रेलियामा गर्मी बिदा चलिरहेको छ । बिदाका बेला हजारौं मानिसहरू अष्ट्रेलियाको सांस्कृतिक जीवनको प्रतीक बनेको समुद्री किनार बोंडी बिचमा भेला भएका थिए । यसमा खाना, फेस पेन्टिङ र अन्य किसिमका मनोरञ्जनका साधनका साथ आठ दिने हनुक्का पर्वको सुरुवात मनाउन भेला भएका सयौं ‘चानुका बाइ द सी’ कार्यक्रमका सहभागीहरू पनि थिए ।

उत्सवमा दुई जना संदिग्ध शूटरहरूले गोली चलाउँदा भएको यस नरसंहारपछि दुई प्रहरी अधिकारीसहित कम्तीमा ४० जनाको अस्पतालमा उपचार भइरहेको छ । मारिनेहरूमा एक १० वर्षीया बालिका, एक यहूदी पुजारी (रब्बी) र एक जना होलोकस्टबाट बाँचेका व्यक्ति पनि समावेश छन् । मृतक वा घाइते पीडितहरूको नाम अधिकारीहरूले औपचारिक रूपमा सार्वजनिक गरेका छै नन् । १० वर्षदेखि ८७ वर्ष उमेर समूहका मारिएकाहरूको पहिचान सोमबार समाचारहरूमा आउन थालेको छ ।

मारिनेहरूमध्ये बोंडीको चाबादका सहायक रब्बी तथा लक्षित पारिवारिक हनुक्का कार्यक्रमका आयोजक रब्बी एली श्लाङ्गर पनि रहेको चाबादले जनाएको छ । चाबाद विश्वव्यापी रूपमा आउटरीच चलाउने र प्रमुख यहूदी बिदाहरूमा कार्यक्रमहरू प्रायोजित गर्ने एउटा अर्थोडक्स यहूदी आन्दोलन हो ।

इजरायलको विदेश मन्त्रालयले एक इजरायली नागरिकको मृत्यु भएको पुष्टि गरेको छ तर थप विवरण दिएको छैन । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले डान एल्कायाम नामका एक फ्रान्सेली नागरिक पनि मारिनेहरूमा रहेको बताए । सिड्नीको सेन्ट भिन्सेन्ट अस्पतालबाहिर पत्रकारहरूसँग कुरा गर्दै लारिसा क्लेइटम्यानले आफ्नो पति अलेक्ज्याण्डर क्लेइटम्यान पनि मारिनेहरूमा रहेको बताइन् । द अष्ट्रेलियन अखबारका अनुसार, यो जोडी नै होलोकस्टबाट बचेका थिए ।

प्रहरीले दुई संदिग्ध शूटर, एक बाबु र छोरालाई गोली हानेको थियो । ५० वर्षीय बाबुको घटनास्थलमै मृत्यु भएको छ भने उनका २४ वर्षीय छोरा सोमबार अस्पतालमा कोमामा रहेको प्रधानमन्त्री एन्थोनी अल्बानीजले बताए । प्रहरीले उनीहरूको नाम खुलाएको छैन । अष्ट्रेलियाको मुख्य घरेलु जासूसी एजे न्सी अष्ट्रेलियन सेक्युरिटी इन्टेलिजेन्स एजेन्सी (एएसआईई) ले २०१९ मा छोराको छ महिनासम्म अनुसन्धान गरेको थियो ।

अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशनले जनाएअनुसार एएसआईईले छोराको सिड्नीमा रहेको इस्लामिक स्टेट समूहको सेलसँगको सम्बन्धको जाँच गरेको थियो । अल्बानीजले भने, ‘उनको अरूसँगको सम्बन्धको आधारमा जाँच गरिएको भए पनि त्यो बेला उनीबाट कुनै खतरा वा हिंसामा संलग्न हुने संकेत देखिएको थिएन ।’

बाउछोरा बन्दुकधारीले एक दशकदेखि बन्दुकको इजाजतपत्र लिएका थिए । उनीहरूसँग छ वटा बन्दुक कानूनी रूपमा भेला गरेका थिए ।

त्यसो त, अष्ट्रेलियाको सबैभन्दा लोकप्रिय बिचमा भएको यो भयानक घटना सन् १९९६ को पोर्ट आर्थर नरसंहारपछि लगभग तीन दशकको सबैभन्दा घातक गोलीकाण्ड हो । त्यसबेलादेखि द्रूत गतिमा फायर हुने राइफलहरू हटाउँदा यस्ता हिंसाका कार्यहरूबाट हुने मृत्युदर उल्लेखनीय रूपमा घटेको छ ।

सोमबार सरकारले बन्दुकको स्वामित्व अष्ट्रेलियाली नागरिकहरूसँग मात्रमा सीमित पार्ने प्रस्ताव गरेका छन् । सन् १९९८ मा विद्यार्थी भिसामा अष्ट्रेलिया पुगेका वृद्धले अस्ट्रेलियाली महिलासँग बिहे गरेका थिए । अधिकारीहरूले उनी कुन देशबाट बसाईं सरेका हुन् भने र पुष्टि भने गर्न चाहेनन् । उनका छोराले भने बन्दुक इजाजतपत्र नपाएको तर उनी अष्ट्रेलियामा जन्मेको पुष्टि सरकारले गरेको छ । सरकारी नेताहरूले बन्दुक इजाजतपत्रका लागि को योग्य छ भनेर निर्णय गर्दा ‘आपराधिक गुप्तचरको थप प्रयोग’ गर्ने पनि प्रस्ताव गरे । यसको अर्थ छोराका संदिग्ध सहयोगीहरूले बुबालाई बन्दुकको स्वामित्वबाट अयोग्य बनाउन सक्छ ।

सिड्नीको राज्य राजधानी न्यू साउथ वेल्सका प्रिमियर (मुख्यमन्त्री) क्रिस मिन्सले आफ्नो राज्यको बन्दुक कानून परिवर्तन हुने बताए, तर उनले कसरी गर्ने भन्ने विस्तृत विवरण भने दिएका छैनन् ।

मिन्सले भनेका छन्, ‘तपाईं किसान हुनुहुन्न, तपाईं कृषिकर्ममा हुनुहुन्न भने, तपाईंलाई यी ठूला हतियारहरू किन चाहिन्छ ?’

उता यहुदी नेताहरूले बढ्दो यहुदीविरोधी भावना नियन्त्रण गर्न नसकेकामा प्रश्न गरेका छन् ।

यतिबेला एउटा भिडियो भाइरल भएको छ । सो भिडियोमा एक जना व्यक्तिले बन्दूकधारीबाट बन्दूक खोसेको तर पछि उनलाई काँधमा गोली लागी अस्पताल भर्ना गरिएको थियो । उनको सो बहादुरीको चर्चा संसारभर भइरहेको छ । ती व्यक्ति ४२ वर्षे अहमद अल अहमद भएको र उनी सिरियाबाट सन् २००६ मा अष्ट्रेलिया बसाइँ सरेको बताइएको छ ।

प्रिमियर मिन्सले अल अहमदको अस्पतालको ओछ्यानको छेउमा बसेको फोटोसहित सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेका छन्, ‘अहमद वास्तविक जीवनको नायक हुन् । हिजो राति, उनको अविश्वसनीय बहादुरीले ठूलो व्यक्तिगत जोखिम मोलेर एक आतंकवादीलाई निशस्त्र पार्दा निःसन्देह अनगिन्ती ज्यान बचेको छ ।’

अहमदका बाबुआमा हालै अष्ट्रेलिया सरेका छन् । छोरा कुनै समय सिरियाली सुरक्षा बलमा काम गरेको उनीहरूले बताएका छन् । उनकी आमा मलाकह हसन अल अहमदले एबीसी टेलिभिजनलाई भनिन्, ‘मेरो छोरा सधैं साहसी छ । उसले मानिसहरूलाई मद्दत गर्छ । ऊ त्यस्तै छ ।’

सरकारी तथ्याङ्कअनुसार २ करोड ८० लाख जनसंख्या भएको अष्ट्रेलियामा करिब १ लाख १७ हजार यहूदीहरूको बसोबास छ । गत वर्षभरि, सिड्नी र मेलबर्नमा यहूदी विरोधी आक्रमणहरूले देशलाई हल्लाएको थियो । देशको ८५% यहूदी जनसंख्या बस्ने ती शहरहरूमा सिनेगग र कारहरू जलाइएका थिए, व्यवसाय र घरहरूमा ग्राफिटी गरिएको थियो र यहूदीहरूमाथि आक्रमण भएको थियो । हमासले अक्टोबर ७, २०२३ मा इजरायलमा आक्रमण गरेपछि र इजरायलले जवाफमा गाजामा हमासविरुद्ध युद्ध शुरु गरेपछि अष्ट्रेलियाली सरकारले यहूदी विरोधी भावना सामना गर्न विभिन्न उपायहरू लागू गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्