नेभिगेशन
अर्थतन्त्र

कृषि विकास बैंकको साधारणसभा सम्पन्न

काठमाडौं – कृषि विकास बैंकले १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे–भक्तपुरमा सोमबार आयोजित साधारणसभाले चुक्ता पूँजीको ३.२५ प्रतिशत बोनस शेयर र सोको कर सहित ९.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।

बैंकका अनुसार हाल देशभर २८५ वटा कार्यालयमार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको कृषि विकास बैंकले दुर्गमदेखि सुगम क्षेत्रसम्म आफ्नो सेवा विस्तार गरेको छ । साथै, नेपालका वाणिज्य बैंकहरूमध्ये कृषिमा सबैभन्दा बढी लगानी गर्ने बैंकको रुपमा आफूलाई स्थापित गर्न सफल भएको बैंकले जनाएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष डिमप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभामा नेपाल सरकार, महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधि मुक्तीरमण पराजुली लगायत ९ जना वक्ताले आ–आफ्ना धारणा राखेका थिए । केही शेयरधनीहरूले लिखित मन्तव्यसमेत प्रस्तुत गरेका थिए ।

शेयरधनीहरूले उठाएका जिज्ञासामा अध्यक्ष पौडेलले स्पष्ट पार्दै  प्राप्त सुझावहरूलाई नियमानुसार कार्यान्वयन गर्दै  जाने प्रतिबद्धता व्यक्त गरे । साधारणसभामा शेयरधनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

सभामा बैंक सञ्चालक समितिका सदस्यहरू सेवन्तक पोखरेल, डा. हरिबहादुर केसी, गोविन्दप्रसाद भट्टराई, संजीव पौडेल, विनोदकुमार गुरागाईं, रीता सुवेदी, प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, उच्च व्यवस्थापनका अधिकारी, कर्मचारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । साधारणसभाको सञ्चालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्