नेभिगेशन
खेलकुद

मेस्सी र उनको विमान

काेलकाता – यतिबेला भारत भ्रमणमा रहेका महान् फुटबलर लियोनेल मेस्सीको लोकप्रियता कुन हदसम्म छ भन्ने देखिएको छ ।

स्वभाविक पनि हो, किनकि फुटबल दुनियाँकै महान् मध्येका एक खेलाडी १४ वर्षपछि भारत भ्रमण पुगेका थिए । त्यसअघि उनी सन् २०११ मा भेनेजुएलासँग भएको मैत्रीपूर्ण फुटबल खेल्न मेस्सी भारत पुगेका थिए । उक्त खेल कोलकातामा २ सेप्टेम्बरमा भएको थियो ।

तर यस पटकको भारत आगमन पहिलेको भन्दा बिल्कुलै फरक बन्न पुग्यो ।

उनी डिसेम्बर १३ मा निजी बिमानबाट भारत आइपुगे । अमेरिकाको मायामीबाट उडान भरेका उनी दुबई ट्रान्जिट हुँदै डिसेम्बर १३ को राति साढे १ बजेतिर कोलकातामा अवतरण गरेका थिए ।

उनी आइपुग्नुअघि नै विमानस्थलबाहिर समर्थकको ठूलो भीड उर्लिएको थियो । उनलाई हेर्न पाइने अभिलाषामा रात्रिकालीन जाडोको पर्वाह नगरी सयौं प्रशंसकहरू कुरिरहेका थिए । तीन दिनको भारत भ्रमणका क्रममा आएका उनको यस यात्रालाई ‘गोट इन्डिया टूर २०२५’ नाम दिइएको छ । गोट भनेको ‘ग्रेटेस्ट अफ अल टाइम’ हो । प्रायः प्रंशसकहरूले मेस्सीलाई यही उपनामले बोलाउँदै आइरहेका छन् । त्यसो त शताब्दीकै महान् खेलाडी भारतमा आउनु निकै चासोको विषय बनेको हो । भारतमा उनलाई नजिकबाट एक झलक देख्न प्रशंसकहरू निकै लालायित पनि छन् । उनलाई हेर्न नपाएको भन्दै शनिबार प्रशंसकहरूले स्टेडियम नै तोडफोड गरे ।

फुटबलका जादु कसरी आए ? कहाँ बसिरहेका छन् ? उनले यहाँ के–के गर्छन् ? यसबारे पनि उनका समर्थकमाझ जिज्ञासा र चर्चा छ । यससँगै उनी आएको विमानको बारेमा पनि चर्चा भइरहेको छ ।

मिडियाहरूका अनुसार, मेस्सी गल्फस्ट्रीम भी नामक निजी विमानमा आएका थिए । गल्फस्ट्रीम भी एउटा विलासी र उच्च गतिमा उड्ने विमान हो । यसको मूल्य १६० करोड भन्दा बढी पर्ने बताइन्छ । यसमा फुल बडी मसाज हुने खालका आरामदायी सिट भएको यो विमान उनले सन् २०१८ मा किनेका थिए ।

९४० किलोमिटर प्रतिघण्टाको गतिमा उडान भर्न सक्ने यो विमान ५१ हजार फिटसम्मको उचाइमा उड्न सक्छ । रोल्स रोयस–बीआर ७१० मोडेलको डबल इन्जिनवाला यो विमानको लम्बाइ ९६.४२ फिट र उचाइ २५.८३ फिट छ ।

यो विमानमा करिब १५ देखि १९ जनासम्मले यात्रा गर्न सक्छन् । यो विमान संसारका शक्तिशाली शासकहरू अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनको अफिसियल विमानभन्दा पनि छिटो उड्न सक्छ । यो विमानको अर्को विशेषता भनेको एकै पटक लामो दूरीसम्म उड्न सक्ने क्षमता हो । यो एक पटकमा १२ हजार किलोमिटरको दूरीमा लगातार उड्न सक्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्