काठमाडौं । एमाले महाधिवेशनमा मतदानको समय सरेको छ । चर्को प्रतिष्पर्धाबीच महाधिवेशन लम्बिँदा अध्यक्षका दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै पक्षले राहत महसुस गरेका छन् । मंगलबार बेलुका ८ बजे मतदान शुरु हुने भन्दै प्रतिनिधिहरू लाइन बसिसकेका बेला एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले मतदान बुधबार विहान ८ बजेमात्रै हुने जानकारी गराएका हुन् ।
मंगलबार साँझ ४ बजेदेखि मतदान सुरु हुने पूर्वनिर्धारित तालिका प्राविधिक पक्ष मिलाउनुपर्ने भन्दै बेलुकी ८ बजेका लागि सारिएको थियो । तर, अन्तिममा लाइन लागिसकेका प्रतिनिधिले मतदान गर्न पाएनन् । विद्युतीय मेसिनबाट हुने मतदानका लागि उम्मेदवारहरूको नामावली ढिला प्राप्त भएकाले इन्ट्री गराउन समय लागेको थियो । पार्टीको निर्वाचन आयोगले उम्मेदवारका नामहरू वर्णानुक्रम अनुसार सच्याएर पठाएको थियो । त्यही आधारमा इन्ट्री भइसकेको नामहरू मिलाउन थप समय लागेपछि निर्धारित समयमा मतदान गर्न नसकिएको आयोगले जनाएको छ । ‘हामीले सुरुमा सम्झौता गर्दा नै मतदाताको फोटोहरू लिने, त्यसपछि फोटोको कोडिङ गर्ने, मेसिनमा राख्ने र १० वटा मेसिनमध्ये ८० वटामा त्यो डिप्लोय गर्ने त्यसमा इन्स्टल गर्ने भनिएको थियो । त्यो सबै गर्न समय लाग्यो,’ विद्युतीय मेसिन निर्माता कम्पनीका सञ्चालक लक्ष्मण रिमालले भने । मतदाताको सूची लगायतका विवरण सोमबार राति १ बजे प्राप्त भएको, प्रारम्भिक नामावली र अन्तिम नामावली सर्टिङमा केही कुरा निर्वाचन आयोगबाट बिग्रँदा दोहोर्याएर काम गर्नुपर्दा ८ बजेबाट तय निर्वाचन गर्न नसकिएको उनले बताए ।

मतदान ७ बजेबाट सुरु हुने तयारीपछि अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पनि मतदानस्थल पुगेका थिए । उम्मेदवारी दर्तापछि पोखरेलले मत मागे पनि भृकुटीमण्डपमा मंगलबार ओली देखिएका थिएनन् ।
निर्वाचनका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुँदै छन् । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने भएकाले २ हजार २ सय ६२ प्रतिनिधिलाई मतदान गर्न करिब ११ घन्टा लाग्नेछ । मतगणना भने ३ देखि ४ घण्टामा सकिने बताइएको छ ।
‘प्राविधिक कारणले गर्दा मतदान प्रक्रिया सुरु गर्न सकिएको छैन । चिसो मौसमका कारणले पनि हामी लामो समय प्रतीक्षा गर्नसक्ने अवस्थामा छैनौं,’ महासचिवका उम्मेदवार शंकर पोखरेलले भने, ‘त्यस अवस्थामा आज गर्ने भनिएको मतदान भोलि बिहान ८ बजेदेखि यसै स्थानमा गरिने जानकारी गराइन्छ ।’ गत शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशन सोमबारसम्म भृकुटीमण्डपमा बन्दसत्र गर्दै सम्पन्न गर्ने कार्यतालिका थियो । पार्टीको निर्वाचन आयोगले एक दिन म्याद थप गरेकोमा पुनः एक दिन थपिएको छ ।
ओली र पोखरेल दुवैलाई राहत
प्राविधिक कारण देखाउँदै मतदान सरेको जानकारी गराउँदा ओली र पोखरेल सँगै थिए । प्रतिस्पर्धा चुनौतीपूर्ण छ । मतदानको समय सरेकोमा दुवैले राहत महसुस गरेको निकटस्थ बताउँछन् । उद्घाटनसत्र सकिँदासम्म ओली पक्ष बलियो देखिएको एमालेमा उम्मेदवारी दर्तासम्म आइपुग्दा अवस्थामा फेरबदल छ । मतदानको समय सरे पनि मंगलबारको रात ओली–पोखरेलसँगै दाबेदारहरू अनिँदो नै बस्ने सम्भावना छ । ओली निकट र उनीबाट पटक–पटक लाभान्वित नेताहरू नै पोखरेल कित्तामा पुगेका छन् । ओली समूहमा रहे पनि चाहेको पदमा उम्मेदवार बन्न नपाउँदा केही नेताहरू निन्याउरा देखिन्छन् । आफ्नै समूहमा विद्रोहपछि दबाबमा देखिएका ओलीले चुनाव सर्दा असन्तुष्टहरूलाई मिलाउने समय पाएका छन् ।
‘चुनावको समय लम्बिँदा हाम्रो समूहभित्र रिसाएका केही नेताहरूलाई फकाउन अध्यक्ष कामरेडले थप समय पाउनुभएको छ । केही असन्तुष्ट मिलिनैसकेका छन्,’ ओली निकट एक पदाधिकारीका उम्मेदवारले भने ।
ओली समूहबाट महासचिवको आकांक्षी रहे पनि नपाउँदा सोमबार असन्तुष्ट बनेका प्रदीप ज्ञवालीले मंगलबार ओलीकै पक्षमा मत मागेका छन् । अर्का असन्तुष्ट नेता राजेन्द्र गौतम पनि उम्मेदवारी फिर्ता लिँदै ओली पक्षमा खुलेका छन् । उपमहासचिवको उम्मेदवारी फिर्ता लिँदै उनले भनेका छन्, ‘उपमहासचिवको पदको उम्मेदवारी फिर्ता गरेको छु, यसपटक पार्टीले तय गरेको खुला केन्द्रीय सदस्यमा अमूल्य मत पाउने विश्वास लिएको छु।’
उसो त, अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेल पक्ष पनि हात बाँधेर बसेका छैनन् । ओलीबाट बाहिरिएका नेताहरू समेट्दै उनी टिम बलियो बनाउन लागेका छन् । उनको समूहले ओली प्यानल छाडेका अग्नि खरेललाई आफ्नोमा सचिवमा समेटेको छ । पोखरेल पक्षले रातीको समयमा मतदान गर्न नहुने अडान राखिरहेको थियो । राती मतदान हुँदा अनुकूल नठानेको पोखरेल पक्षले निर्वाचनको मिति सर्दा आफ्नो मागअनुसार उज्यालोमै मतदान हुने तय हुँदा राहत महसुस गरेको छ । मतदानमा ढिलाइ भएपछि पोखरेल पक्ष महाधिवेशनस्थलमा असन्तुष्ट देखिन्थ्यो । ‘निर्वाचन ढिला गर्न हुँदैन भनेर निर्वाचन आयोगलाई भनेका छौँ । उहाँहरूले अब केही समयभित्र हामी सुरु गर्छौं भन्नुभएको छ, तयारीमा हुनुहुन्छ । निर्वाचन ढिलो गर्ने कुरा उपयुक्त होइन,’ पोखरेल समूहबाट उपाध्यक्षका उम्मेदवार गोकर्ण विष्टको प्रतिक्रिया छ ।
कसले मार्ला बाजी ?
एघारौं महाधिवेशनमा ओली तेस्रो पटक अध्यक्ष पुनः दाबेदारी प्रस्तुत गरिहेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्व लिन तयार रहेर ओलीलाई आराम गर्न सुझाव दिइरहेका छन् । टुंगो मतदानले गर्छ । मतदान अगुवा नेता–कार्यकर्ताले गर्छन्, जसले दुवैलाई चिनेका छन् ।
प्रतिष्पर्धा दुवैका लागि सहज छैन । दुवै पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् । पोखरेल पक्ष यसपटक ओलीलाई रोकेर आफू अध्यक्ष विजयी हुने दाबी गर्छ । ‘ प्रतिनिधि साथीहरूको जुन प्रकारको रेस्पोन्स छ, हामीले धेरै हल्ला गर्ने कुरालाई त्यति धेरै जोड दिइरहेका छैनौँ । नेतृत्व हस्तान्तरण हुन्छ, अरू पदहरूमा पुस्तान्तरण पनि हुन्छ,’ गोकर्ण विष्ट भन्छन् ।
तर, ओली पक्ष त्यस्तो दाबी इन्कार गर्छ । ओलीको उपस्थिति देशका लागि आवश्यक रहेको उनीहरूको बुझाइ छ । ओली निकट नेता महेश बर्तौला भन्छन्,‘एमालेका कार्यकर्ता मात्रै होइन, अन्य राजनीतिक पार्टीका नेता कार्यकर्ताहरूले केपी ओलीज्यूको उपस्थिति देशकै लागि आवश्यक रहेको महसुस गरिराख्नुभएको छ । समग्र प्रतिनिधिको मनोविज्ञानको आधारमा हामी भन्न सक्छौं ।’ उम्मेदवारी दर्तापछिको एमालेभित्रको ओली गुटमा देखिएको फेरबदलले परिणाम के आउँछ भन्न नसकिने अवस्था बनेको एमालेका मध्यमार्गी नेताहरू बताउँछन् ।
उपाध्यक्षमा अरूण नेपाल, गुरू बराल, गोकर्णराज विष्ट, टंक कार्की, परशुरामेघी गुरूङ, पृथ्वीसुब्बा गुरूङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा बादल, डा. विन्दा पाण्डे, विष्णुप्रसाद पौडेलको उम्मेदवारी परेको छ । महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे प्रतिष्पर्धी छन् । तीन उपमहासचिवका लागि आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, विष्णुप्रसाद रिमाल, वैजनाथ चौधरीको उम्मेदवारी परेको छ । ९ सचिवका लागि २० जनाको उम्मेदवारी परेको छ । अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुरप्रसाद गैरे, पद् माकुमारी अर्याल, पुरूषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोदप्रसाद ढकाल, शेरधन राई, हिक्मतकुमार कार्कीको उम्मेदवारी परेको छ । एमाले महाधिवेशनमा २२ सय ६२ जना प्रतिनिधि छन् ।