काठमाडौं – क्रिकेटको बहुप्रतिक्षित प्रतियोगिता इन्डियन प्रिमियर लीग २०२६ का लागि खेलाडी चयनको लिलामीमा कोलकाता नाइट राइडर्सले २५ करोड २० करोड भारुमा क्यामरून ग्रीनलाई लिएर रेकर्ड बनाएको छ ।
यूएईको अबुधाबीमा मंगलबार भएको यो वर्षको लिलामीमा सिजन अघि मात्र ७७ नयाँ स्थानहरूका लागि प्रतिबद्ध खेलाडीहरू चयन गर्दै सबै १० फ्रेन्चाइजले आफ्नो अन्तिम टोली सन्तुलन बनाउन जुटेका छन् । सबैभन्दा धेरै दाम अस्ट्रेलियाली अल राउन्डर क्यामरून ग्रीनले पाएका छन् । उनी सबैभन्दा महँगा विदेशी खेलाडी बनेका छन् । कोलकाता नाइट राइडर्सले २५.२० करोडमा उनलाई आफ्नो बनाएको छ, जुन आइपीएल इतिहासमा विदेशी खेलाडीका लागि सबैभन्दा ठूलो बोली हो । यसका लागि चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स पनि इच्छुक देखिएका थिए । बोली लाग्दै जाँदा अन्ततः कोलकाताको बोलीले जित्यो ।
क्यामरून ग्रीन अस्ट्रेलियाका प्रमुख अल राउन्डर हुन्, जसले बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षमतामा उत्कृष्ट प्रदर्शन गर्छन् । उनले पहिले मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बेंगलोरका लागि आईपीएल खेलेका छन् र अन्तर्राष्ट्रिय क्रिकेटमा पनि महत्वपूर्ण प्रदर्शन गरेका नाम हुन् । अट्याकिङ र शक्तिशाली बलिङले उनलाई टी–२० क्रिकेटमा अत्यन्त मूल्यवान बनाएको छ ।
आईपीएल नियम अनुसार विदेशी खेलाडीले सिधै बोलीको पुरा रकम पाउँदैनन् । जसअनुसार ग्रीनले वास्तविक रूपमा लगभग १८ करोड मात्र पाउनेछन् । बाँकी रकम बीसीसीआइको खेलाडी कल्याण कोषमा जानेछ । यो सीमा आइपीएलको अधिकतम शुल्क नियम अन्तर्गत लागू गरिएको हो । मंगलबार भएको लिलामीमा अरु पनि उल्लेखनीय खरिदहरू भएका छन् ।
दक्षिण अफ्रिकाका डेविड मिलरलाई दिल्ली क्यापिटल्सले २ करोडमा लिएको छ । प्रशांत वीर (भारत, अनक्याप्ड) लाई चेन्नई सुपर किंग्सले १४.२० करोडमा किनेको छ, जसले उनलाई सबैभन्दा महँगा अनक्याप्ड भारतीय खेलाडी बनाएको छ। वेंकटेश अड्ढयर (भारत)लाई रोयल च्यालेन्जर्स बेंगलोरले ७ करोडमा लिएको छ ।
टाटा आइपीएल २०२६ सिजन यो अक्सनपछि आगामी मार्चमा सुरु भएर मेसम्म हुने तय भएको छ । प्रत्येक आइपीएलमा फ्रेन्चाइजसँग एक निश्चित बजेट हुन्छ, जसअन्तर्गत उनीहरूले खेलाडीमाथि लिलामीमा किन्ने बोली लगाउन सक्छन् । मंगलबारको लिलामी ‘मिनी’ हो, जहाँ सन् २०२५ सम्मका कुनै खेलेका, मुक्त वा अनक्याप्ड खेलाडीहरू पुनः बोलीमा आएका छन् । सबै १० टिमले आफूलाई सन्तुलन मिलाउने प्रयासमा विविध भूमिकाका बलर, ब्याटर र अल–राउन्डरहरूमा लगानी गरेका छन् ।