नेभिगेशन
राजनीति

देउवा भेटेर शेखरले गराए ध्यानाकर्षण

क्रियाशील सदस्यता फाराम नयाँ पठाइने

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले २४ घन्टाभित्र क्रम संख्या उल्लेख भएका सदस्यता फाराम पठाउने निर्णय गरेको छ । महामन्त्री गगन थापा संयोजक रहेको समितिले मातहत समितिहरूमा क्रम संख्या उल्लेख गरिएका फाराम पठाउने निर्णय गरेको हो ।

‘क्रियाशील सदस्यता फाराम पुनः प्रकाशन गरी दुई दिनभित्र क्षेत्र क्षेत्रमा पुर्‍याउने निर्णय भएको छ,’ सदस्यता व्यवस्थापन केन्द्रीय समितिकी सदस्य सीता गुरुङले भनिन्, ‘अब विगतमा बुझेर लैजाने व्यक्तिको नाममा त्यति नै सदस्यता केन्द्रबाटै जिल्लाहरूलाई पठाइने छ ।’ उनले क्रमसंख्यासहितको फाराम पुगेपछि नयाँ सदस्यता वितरण हुने पनि जानकारी दिइन् । कांग्रेसले नयाँ सदस्यता पुस ३ गतेभित्र वितरण गरिसक्न केन्द्रीय समितिको कार्यतालिकासहित परिपत्र गरेको छ । तर, क्रमसंख्या विवादपछि उक्त कार्यतालिका भत्कने भएको छ । अब सदस्यता फाराम नै पुस ३ गतेभन्दा पछि मात्रै जिल्लामा पुग्ने छ । सदस्यता फाराम छापिन थालिसकेको छ । कर्णाली सुदूरपश्चिमसहित दुर्गममा प्राथमिकता क्रममा प्लेनबाट सदस्यता फाराम पठाइने गुरुङले बताइन् । आगामी बिहीबारसम्म पुगिसक्ने गरी प्लेनमा फाराम पठाएर कार्यतालिकामा केही मात्र तलमाथि हुने गरी काम अघि बढाउने समितिको तयारी छ ।

क्रियाशील सदस्यता फाराममा क्रमसंख्या नै नराखी जिल्लाहुँदै क्षेत्र, पालिका र वडामा पुगेपछि त्यसमाथि प्रश्न उठेका थियो । सोमबार सदस्यता व्यवस्थापन समितिमा पुनः प्रकाशन गर्ने समझदारी भए पनि निर्णय भएको थिएन । मंगलबार नेता डा. शेखर कोइरालाले हचुवामा फाराम पठाइएको भन्दै सभापति शेरबहादुर देउवालाई नै भेटेर ध्यानाकर्षण गराएका थिए । भेटमा कोइरालाले क्रियाशील सदस्यता वितरण समितिले नम्बर बिनाका फाराम जिल्ला जिल्ला पठाएकाले यसले पार्टीभित्र जटिल समस्या उत्पन्न सिर्जना गरेको देउवासँग गुनासो गर्दै असन्तुष्टि जनाएका थिए । त्यसपछि मंगलबार बसेको सदस्यता व्यवस्थापन समितिले पुनः प्रकाशन गरी पठाउने निर्णय गरेको हो । जनसम्पर्क समितिहरूमा पुस ५ गतेभित्र अनलाइनमार्फत् फाराम भर्न सक्नेगरि समय दिने निर्णय भएको छ । विदेशस्थित जनसम्पर्क समितिमा पनि क्रमसंख्याविहीन क्रियाशील सदस्यता पठाइएको थियो । विवादपछि कांग्रेसले ५ लाख ५४ हजार नयाँ क्रियाशील सदस्यता फाराम पुनः छाप्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्