नेभिगेशन
राजनीति

श्रम संस्कृति पार्टी उपाध्यक्ष तामाङ पक्राउ

काठमाडौं – श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति भनिने राजकुमार तामाङ विस्फोटक पदार्थसम्बन्धि कसुरमा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले धनकुटा घर भई कपन बस्ने ५० वर्षीय तामाङ लामालाई पक्राउ गरेको हो ।

श्रम संस्कृति पार्टीका अध्यक्ष धरान उपमहानगरका मेयर हर्क साम्पाङ छन् । आसन्न निर्वाचनका लागि सभा सम्मेलन र भेटघाट बढाएको पार्टीका उपाध्यक्ष पक्राउले साम्पाङलाई अप्ठ्यारो परेको छ । ।

प्रहरीका अनुसार लामाविरूद्ध २०६८ फागुन १५ गते काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम बिस्फोट गराएको आरोप छ । उक्त घटनामा तीन जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए । कर्तव्य ज्यान र ज्यान सम्बन्धी कसुर समेतमा फरारको सूचीमा रहेका उनलाई यसअघि प्रहरीले २०६९ असार १२ मा पाँचथरको भुसपातेमा विस्फोटक पदार्थसहित पक्राउ गरेको थियो । सुरूमा कर्तव्य ज्यान र ज्यान सम्बन्धी कसुरको अनुसन्धान र कारबाहीका लागि उनलाई काठमाडौं पठाइएको थियो ।

केन्द्रीय कारागार नख्खुमा कारागार चलान गर्दा २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा माफी पाएर उनी छुटेका थिए । तर, उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा भने फरार थिए । त्यसैले उनलाई पक्राउ गरी अनुसन्धानका लागि पाँचथर पठाएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्