नेभिगेशन
प्रदेश

बाघ गणना सुरु

चितवन । चार वर्षमा गरिने बाघको गणना मंगलबारदेखि सुरु भएको छ । चितवनको सौराहामा आयोजित औपचारिक कार्यक्रममा उद्घाटन गरी गणना सुरु गरिएको हो । वन तथा वातावरण मन्त्रालयलअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र वन तथा भूसंरक्षण विभागको समन्वयमा गरिने बाघ गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्ववन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपालको सहयोग रहेको छ । गणनामा नेपाली सेना, मध्यवर्ती तथा सामुदायिक वन उपभोक्ता समितिलगायत सहयोगीका रुपमा परिचालित हुने गरेका छन् ।

दुई सय ५० जना प्राविधिक कर्मचारी देशभर साढे दुईदेखि तीन महिना खटिएर गणनाको काम हुनेछ । गणनामा ११ सय वटा क्यामराट्रयाप प्रयोग गरिनेछ । विभागका महानिर्देशक बुद्धिसागर पौडेलले गणनामा प्रयोग हुने सामानका लागि मात्र करिब रु तीन करोड खर्च लाग्नेछ । सन् २००९ देखि क्यामरा ट्रयापबाट प्रणालीबाट बाघ गणना गर्न थालिएको हो । उक्त गणनाअनुसार नेपालमा एक सय २१ वटा बाघ रहेको पाइएको थिए । त्यसअघि बाघका खुट्टाका छाप तथा पदमार्गको अनुमानका आधारमा गणना गरिन्थ्यो र त्यो पनि राष्ट्रियस्तरमा नभई निकुञ्जमा सीमित हुन्थ्यो । सन् २००९ यता हरेक चार वर्षमा बाघ गणना हुँदै आएको छ । बाघको सर्वेक्षण खासगरी हिउँदको समयमा गरिन्छ । यो समयमा बाघ सुक्खा ठाउँमा र झाडी नभएको खुला क्षेत्रमा हिँडडुल गर्ने गर्दछ । निकुञ्ज विभागका सूचना अधिकारी वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले गणनाका लागि दुई वर्गकिलोमिटर क्षेत्रफलमा स्वचालित क्यामेरा राखिन्छ र उक्त क्यामेराले २४ सै घण्टा जुनसुकै वस्तु चलायमान हुँदा स्वाचालित रूपमा तस्बिर लिएर रेकर्ड गर्छ । गणनाको परिणाम आगामी जुलाई २९ अर्थात् अन्तर्राष्ट्रिय बाघ दिवसका दिन सार्वजनिक गर्ने भन्ने योजना रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्