कैलाली । धनगढी उप–महानगरपालिकाद्वारा अपांगता सहायक सामग्री वितरण गर्ने कार्यक्रम सुरु गरेको छ ।
सामग्री आवश्यक व्यक्तिको पहिचानका लागि सजिलो होस् भन्ने उद्देश्यले नगरपालिकाले व्यक्ति छनोट शिविर सुरु गरेको छ । धनगढी उपमहानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने अपांगता भएका व्यक्तिलाई खोजीखोजी अपांगता सहायक सामग्री वितरण गर्न क्षेत्र अनुसार पहिचान शिविर सञ्चालन गर्दै आएको बताइएको छ । अपांगता भएका व्यक्तिहरूको आवश्यकता पत्ता लगाउन प्रारम्भिक शिविर सञ्चालन गरिएको हो ।
सो शिविरको सुरुवात धनगढी–१६ जुगेडाबाट भएको छ । शिविरमा अपांगता भएका १ सय २४ जनाको प्रारम्भिक स्क्रिनिङ भएको छ । जसमा ५१ जना पुरुष, ६६ जना महिला र ७ बालबालिकाले नाम दर्ता गराएका छन् । अपांगता भएका व्यक्तिहरूले सामग्री अभाव हुँदा कष्ट सहनुपरेको गुनासो आएपछि धनगढी उपमहानगरपालिकाकाले आवश्यकताका आधारमा सहायता सामग्री वितरण गर्न पहल थालेको थियो । ‘पालिकाले सहयोगको पहल थालेकोमा खुसी लागेको छ,’ स्थानीय वासिन्दा कुम्भराज जोशीले बताए । अपांगता भएका व्यक्तिहरूलाई आवश्यक सामग्री प्राप्त गर्न सहज बनाउने उद्देश्यले शिविर सञ्चालन गरिएको उपमहानगरपालिकाकाले जनाएको छ । ह्विलचेयर, वाकर, स्टिक, हियरिङ एडलगायत सामग्री आवश्यकताअनुसार उपलब्ध गराउँदै जाने कार्यक्रम रहेको छ ।
जन्मजात अपांगता भएका तथा विभिन्न दुर्घटनाबाट अंगभंग भएका तथा अरुको सहयोगमा हिँडडुल गर्नुपर्ने नागरिकका समस्यालाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको उपमहानगर पालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताएका छन् ।
अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री अभाव देखिएकाले आवश्यकताका आधारमा सेतो छडी, वैशाखी, लठ्ठी, कम्मरमा बाँध्ने पेटी, क्यालिफर, कुहिनो मुनीको हात, घुँडा मुनीको कृत्रिम खुट्टा, ह्विल चियर, ट्राइसाइकल, विशेष जुत्तालगायत सामग्री उपलब्ध गराइने स्क्रिनिङमा सहभागी फिजियोथेराफिस्ट डा. सुरेन्द्र भट्टले बताए ।