नेभिगेशन
अर्थतन्त्र

एनएमबि बैंकमा अब अनलाइनबाट कर्जा ट्रयाकिङ

काठमाडौं — एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि अनलाइन कर्जा ट्रयाकिङ सुविधा सुरु गरेको छ । यस सुविधामार्फत ग्राहकहरूले व्यक्तिगत तथा साना तथा मझौला उद्यम (एसएमई) कर्जा आवेदनको अवस्था वास्तविक समयमा ट्रयाक गर्न सक्नेछन् ।

नयाँ सुविधासँगै कर्जाका लागि आवेदन दिएका ग्राहकहरूले अब आवेदनको अवस्थाबारे जानकारी लिन बैंकको शाखामा धाउनुपर्ने वा फोन सम्पर्क गर्नुपर्ने झञ्झटबाट मुक्ति पाउने बैंकले जनाएको छ । कर्जाका लागि आवश्यक कागजातहरू पेश गरेपछि ग्राहकलाई एक ट्रयाकिङ नम्बर प्रदान गरिनेछ । सो नम्बर प्रयोग गरी बैंकको वेबसाइटमा रहेको डिजिटल बैंकिङ खण्डअन्तर्गत ‘अनलाइन लोन ट्रयाकर’ मार्फत कर्जा प्रक्रिया कहाँ पुगेको छ भन्ने जानकारी लिन सकिनेछ ।

बैंकका अनुसार यस सुविधाले कर्जा प्रक्रियालाई थप सहज, छरितो र पारदर्शी बनाउने विश्वास लिइएको छ । डिजिटल प्रविधिको प्रयोगमार्फत ग्राहक अनुभव सुधार गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको बैंकले जनाएको छ ।

बैंकले देशभर २०२ शाखा, १८४ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्