नेभिगेशन
अर्थतन्त्र

एनसेलले एनपीएलका चौकाबापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं – एनसेल फाउण्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका क्रममा गरिएको प्रतिबद्धताअनुसार देशभरका सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई २,४२८ वटा शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।

एनसेलले प्रत्येक चौकामा चार वटा शैक्षिक सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । यस पहलले क्रिकेटको उत्साहलाई शैक्षिक सहयोगसँग जोड्दै विद्यार्थीहरूको पठन– पाठनमा सहयोग पुर्‍याउने विश्वास एनसेलको छ ।

दोस्रो संस्करणमा ९९ खेलाडीले कुल ६०७ चौका प्रहार गरेका थिए, जसका आधारमा २,४२८ वटा शैक्षिक सामग्री वितरण सुनिश्चित भएको हो । पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले सबैभन्दा धेरै ३१ चौका प्रहार गरी १२४ सामग्री सुनिश्चित गरेका छन् । लुम्बिनी लायन्सका डार्सी सर्टले २६ चौकासहित १०४ सामग्री र सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारीले २३ चौकाबाट ९२ सामग्री सुनिश्चित गरेका छन् ।

प्रदान गरिने प्रत्येक शैक्षिक सामग्रीमा स्कूल ब्याग, कापी, पेन्सिल, शार्पनर, इरेजरलगायत आवश्यक स्टेसनरी सामग्री समावेश हुने एनसेलले जनाएको छ । एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्दे शक बिषाखा लक्ष्मी खड्काले खेलाडीहरूको योगदानले मैदानमा मात्र होइन, विद्यार्थीहरूको शिक्षामा पनि सकारात्मक प्रभाव पारेको बताइन् । उनले यस वर्ष पनि सम्बन्धित सरोकारवालासँग सहकार्य गरी बढी आवश्यक पर्ने  सरकारी विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी सामग्री वितरण गरिने जानकारी दिइन् ।

यस वर्ष पनि एनसेल एनपीएलको ‘पावर्ड बाई’ साझेदार बनेको थियो । कम्पनीले प्रत्येक खेलमा सबैभन्दा बढी चौका प्रहार गर्ने खेलाडीलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको थियो । साथै, दोस्रो संस्करणमा सर्वाधिक चौका प्रहार गर्ने एडम रोसिङ्टनले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

गत वर्ष एनपीएलको पहिलो संस्करणमा प्रहार भएका ६५३ चौकाअनुसार २,६१२ शैक्षिक सामग्री वितरण गर्ने प्रतिबद्धता जनाइएको थियो । सोहीअनुसार फाउण्डेसनले देशभर ९,००० भन्दा बढी शैक्षिक सामग्री वितरण गरेको थियो । यस वर्षको शैक्षिक सामग्री वितरण नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकाय तथा साझेदार संस्था कर्मयोग फाउण्डेसनसँगको समन्वयमा गरिने एनसेलले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्