नेभिगेशन
अर्थतन्त्र

‘कर्णाली चिसापानी जलविद्युतकाे डीपीआरको काम सुरु हुँदैछ’

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी जलाशय जलविद्युत् आयोजनाको विस्तृत इञ्जिनियरिङ अध्ययन प्रतिवेदन (डीपीआर) तयार पार्न लागिएको बताएका छन् । कैलालीको जानकी गाउँपालिकाको दुर्गौलीमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री घिसिङले यस्तो बताएका हुन् ।

उनले सदूरपश्चिम प्रदेश मात्र नभएर समग्र देशकै आर्थिक समृद्धिसँग जोडिएको कर्णाली चिसापानीको डीपीआर विद्युत् प्राधिकरणमार्फत तयार पार्न लागिएको बताए । यसअघि सन् २००१ भित्र निर्माण सम्पन्ने गर्ने गरी सम्भाव्यता भए पनि आयोजना अगाडि बढ्न नसकेको उल्लेख गर्दै मन्त्री घिसिङले मुलकको समृद्धिसँग जोडिएका कुनै पनि मेगा आयोजना अगाडि बढाउनुपर्ने बताए । उनले कर्णाली चिसापानी आयोजनालाई दक्षिण एशियाली क्षेत्रकै नमुना आयोजनाका रूपमा विकास गर्न सकिने दाबीसमेत गरे ।

नेपाल विद्युत् प्राधिकरणले विस्तृत अध्ययनका लागि परामर्शदाता छनोटको प्रक्रिया अगाडि बढाएको छ । कर्णाली चिसापानी आयोजना बनेपछि नदीको प्रवाह नियन्त्रण हुने हुँदा हाल रहेको नदी कटानको समस्या पनि दीर्घकालीनरूपमा समाधान हुने घिसिङले बताए । उनले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको ४.७१ मेगावाट विद्युत् उत्पादन गर्ने  विद्युत गृह सञ्चालन गर्न स्थानीय जनता, उपभोक्ता समितिलगायतको शेयर स्वामित्व रहने गरी कम्पनी खोल्ने प्रक्रिया अगाडि बढाइसकेको पनि जानकारी दिए ।

कम्पनी खोल्न सहमतिका लाथि अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिंदै मन्त्री घिसिङले अर्थबाट सहमति आएपछि मन्त्रिपरिषदबाट निर्णय गराइ कम्पनी संस्थापनाको प्रक्रिया अगाडि बढ्ने उनले बताए । उनले जलविद्युत् र पर्यटनको विकासमार्फत सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धि हासिल गर्न सकिने जिकिर गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्