नेभिगेशन
राजनीति

एमालेमा रातभर मतदान

प्रतिस्पर्धाबाट प्राप्त परिणाम स्वीकार्छौं : पोखरेल

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि रातभर मतदान भएको छ । बुधबार बिहान ९ः१२ बजे विद्युतीय भोटिङ मेसिनमा सुरु भएको मतदान निकै सुस्त गतिमा अघि बढ्दा नेता–कार्यकर्ताले रात अनिँदै काट्नु परेको छ ।

प्रतिष्पर्धामा रहेका दुवै प्यानलका उम्मेदवार र अगुवाहरू मतदाताको हालखबर सोध्न घुमिरहेका देखिन्थे । धेरै उम्मेदवार र छनोटमा अलमलले मतदातामा अन्योल देखिएको छ । जसका कारण मतदान सुस्त भएको हो । ढिला भएकाले रातभर मतदान हुने अवस्था आएको एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले बताए । यो समाचार तयार पार्दासम्म करिब १ हजार ५ सय जनाले मतदान गरेका छन् ।

भोट हाल्न लाग्ने समय पूर्वानुमानभन्दा बढी समय लागेको पोखरेलको भनाइ छ । ‘एक जना प्रतिनिधिलाई भोट हाल्न २० देखि २५ मिनेट लाग्ला र आठदेखि साढे आठ घण्टामा सकिएला भन्ने अनुमान गरेका थियौं । तर, व्यवहारले त्यो पुष्टि भएन । यो प्राविधिक ज्ञानले उत्पन्न गराएको समस्या हो,’ उनले भने, ‘नाम सूची हेरेर भोट खसाल्नुपर्ने भएकाले पनि बढी समय लाग्यो ।’

महाधिवेशनमा पार्टी अध्यक्षका उम्मेदवारहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले सँगसँगै मतदानको पालो पाए । ओलीलाई निकै समय लाग्यो भने पोखरेलले पछि छिटो गर्न सकेनन् ।

पोखरेलले मतदान गर्न १ घण्टा ४ मिनेट लगाएका थिए । मतदान गरेर निस्कँदै गर्दा उनले परिणाम जे आए पनि स्वीकार गर्ने बताए । ‘पार्टीभित्र प्रतिष्पर्धाको राजनीति भनेको हामीले आत्मसात गरेको विचार हो । त्यसकारण यसलाई के के न होला भनेर सोच्नुहुँदैन,’ उनले भने, ‘एमालेले प्रतिष्पर्धाको अभ्यास गर्दाखेरी यो त राम्रो हो भन्नुपर्‍यो नि । प्रतिस्पर्धा गर्न तयार हुनेले प्रतिस्पर्धाबाट प्राप्त हुने परिणामलाई पनि स्वीकार गर्छ । हामी स्वीकार्छौं ।’

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले छिटो मतदान गर्नेले ९ मिनेट र ढिलो गर्नेले २ घण्टा १२ मिनेटसम्म लगाएको बताए । मतदान सकिएको २ घण्टाभित्र नतिजा आउने पनि उनले दाबी गरे ।

एमाले मतदान प्रक्रिया छिटो गर्नका लागि भन्दै ८० वटा विद्युतीय मेसिन प्रयोग गरेको छ । एमालेका महाधिवेशन प्रतिनिधि २ हजार २ सय ६३ जना छन् । महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार केन्द्रीय कमिटीका अनुसार ३ सय १ पदका लागि ६ सय ३ जनाको उम्मेदवारी परेको छ । पदाधिकारीतर्फ अध्यक्ष (१) पदमा २, उपाध्यक्ष (५) पदमा ११, महासचिव (१) पदमा २, उपमहासचिव (३) पदमा ७ र सचिव (९) पदमा २० जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षका दुई उम्मेदवार केपी ओली र ईश्वर पोखरेल प्यानल बनाएरै प्रतिस्पर्धामा छन् ।

एमालेले यसअघि चितवनको सौराहामा गरेको १०औं महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो । चितवन महाधिवेशनमा विद्युतीय भोटिङ हुँदा जम्मा सात घण्टा लागेको थियो । त्यतिबेला २ हजार १ सय ५३ मतदातामध्ये २ हजार ९६ मत खसेको थियो ।

४ वर्षअघि नै विद्युतीय मतदान अभ्यास गरेको भए पनि यसपटक उम्मेदवारको संख्या धेरै हुँदा मतदाताहरू प्यानलको सूची नै बोकेर मतदान गर्न जाँदा समय लागेको छ । २४ घण्टाभित्र मतदान सकिने एमाले निर्वाचन आयोगको दाबी छ । रातभर कुनै कारणले मतदान नरोकिए बिहीबार विहान १० बजेभित्रै एमालेको नयाँ नेतृत्व छानिनेछ ।

छिटो गर्नका लागि भन्दै विद्युतीय मेसिनको प्रयोग मतपत्रमा मत हाल्दा भन्दा ढिला देखिएको छ । भृकुटीमण्डपमै सम्पन्न कांग्रेसको १४औं महाधिवेशनमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले ६ घण्टामा मत खसालिसकेका थिए ।

यसपटक एमाले महाधिवेशनको पाँचौ दिन रातभर मतदान चल्यो । समय बिताउन प्रतिनिधिहरू कोही गाउन त कोही नाच्न थाले । रातभर उनीहरू नाचगान गर्दै आफ्नो मत हाल्ने समय पर्खिरहे । दिनैभर उम्मेदवारहरूले हार्दिकताका साथ मत मागे । समर्थकहरूले आफ्नो उम्मेदवारको पक्षमा ढंगले प्रचार गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्