नेभिगेशन
अर्थतन्त्र

अर्डर भइसकेका युरो–६ तलका गाडी आयात गर्न दिन आग्रह

काठमाडौं, ३ भदौ - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्डर भइसकेका युरो–६ भन्दा तलका गाडी एकपटकका लागि आयात गर्न दिन सरकारसंग आग्रह गरेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मंगलबारदेखि भृकुटीमण्डपमा सुरु गरेको ‘नाडा अटो शो २०२५’ को उद्घाटन सत्रका अवसरमा बोल्दै उनले सरकारले लागू गरेको युरो–६ मापदण्ड सही भए पनि तत्काल कार्यान्वयन गर्दा समस्या भएको बताए । 

व्यवसायीले अर्डर गरिसकेका युरो–६ भन्दा मुनिका गाडी ल्याउन नपाउँदा समस्या भएको भन्दै एकपटकका लागि आयात गर्न अनुमति दिन आग्रह गरेका हुन् । कार्यक्रममा अध्यक्ष ढकालले नाडा अटो शोले बजार र ग्राहकलाई जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै यसले नेपालको अर्थतन्त्रमा फाइदा पुग्ने विश्वास व्यक्त गरे । उनले पछिल्लो समय इलेक्ट्रिक गाडीको आयात बढिरहेकोले अब नेपालमा पनि गाडी एसेम्बल उद्योग, डाटा सेन्टर र वातावरणमैत्री उत्पादनको सम्भावना बढेको बताए । 

सरकारले हालसालै ३० भन्दा बढी उद्योग, लगानी र व्यवसायसम्बन्धी कानून परिमार्जन गरेको र यसले निजी क्षेत्रप्रतिको धारणा सकारात्मक बन्दै गएको उनले बताए । पछिल्ला केही वर्षमा नेपालले चुनौतीपूर्ण आर्थिक अवस्था भोगे पनि हाल बजारमा सुधारका संकेत देखिएको उनको भनाइ छ ।

‘दुई वर्षअघि भन्दा सवारीसाधनको बिक्री करिब ४० प्रतिशतले वृद्धि भएको आकलन देखिन्छ,’ उनले भने, ‘यसले बजारमा विश्वास बढेको देखाउँछ ।’ उनले कर्जा प्रवाह ८.७ प्रतिशतले बढेको बताउँदै बैंकहरूको नाफा वृद्धिमा पनि सकारात्मक संकेत देखिएको बताए ।

महासंघको पहलमा १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको र यो कम्पनीले पूर्वाधार, ऊर्जा, पर्यटन र उत्पादनमूलक क्षेत्रमा लगानीका अवसर सिर्जना गर्ने लक्ष्य लिएको जानकारी दिँदै अध्यक्ष ढकालले सो कम्पनीले ४० अर्ब रुपैयाँसम्मका ठूला आयोजनामा लगानी गर्न सक्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्