कैलाली । भारतसँग नाका जोडिएको कैलालीमा लागुऔषध दुर्व्यसनको जालो डरलाग्दो तवरले फैलिरहेको छ । लागुऔषध ओसारपसार र प्रयोगकर्ताको संख्या दिन प्रतिदिन बढेको छ । जटिल सामाजिक समस्याको रुपमा चित्रित भएको लागुऔषध दुर्व्यसनी भारतसँग खुल्ला सिमाना भएका कैलालीका चारवटा पालिकाहरूबाट ओसारपसर हुने तथ्य बाहिरिएको छ । विशेषगरी १५ देखि ३५ वर्ष उमेर समूहका युवायुवती लागुऔषधको उच्च जोखिममा छन् । टीकापुर नगरपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिका र धनगढी उपमहानगरमा खुला सीमाबाट लागुऔषध ओसारपसार हुने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीको रेकर्डमा छ । विभिन्न समय प्रहरीले ठूलो परिमाणमा ब्राउन सुगर, गाँजा, ट्रामाडोल, नाइट्रोजन ट्याब्लेटजस्ता लागुऔषध ओसारपसार हुँदै गरेको अवस्थामा बरामद गरेको छ । तस्कर र लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन् ।
व्यापक धरपकड चरिहँदा पनि धनगढी, लम्की, टीकापुर, भजनीलगायत क्षेत्रहरूमा लागुऔषध प्रयोग र ओसारपसार नघटेको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा कैलालीमा लागुऔषध दुर्व्यसनको कसुरमा ७ सय जना पक्राउ परेको तथ्यांक छ । पक्राउ परेकाहरूमा ३८ महिला थिए भने ६ सय ६२ जना पुरुष थिए । ओसारपसार गर्दागर्दै पक्राउ परेकामध्ये अधिक संख्या प्रयोगकर्ताको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कैलाश सिंह विष्ट लागुऔषधको आसारपसार र प्रयोगलाई निरुत्साहित गर्न प्रहरीले काम गरिरहेको बताउँछन् । ‘लागुऔषध रोकथाम प्रहरीले मात्रै गररे हुने देखिँदैन । समाज नै लाग्नुपर्छ,’ उनले भने, ‘हामीले ओसारपसार र प्रयोग रोक्न सकेको कोसिस गरेका छौं ।’
सामाजिक समस्याको रुप फैलिरहेको लागुऔषध दुर्व्यसनी नियन्त्रणका लागि व्यापक अपरेसन चलाउनुपर्ने देखिएको छ ।
उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ब्राउन सुगर, गाँजा, ट्रामाडोल, नाइट्रोजन ट्याब्लेटजस्ता लागुऔषधहरू झण्डै एक क्वीन्टल बरामद भएको थियो भने ४ सय ६९ मुद्दा दर्ता भएको थियो । चालु आर्थिक वर्षको मंसिर सम्मका पाँच महिनामा १ सय २२ मुदा दर्ता भएको छ । १ सय ६४ जना १६ केजीभन्दा बढी लागुऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा युवाको संख्या अधिक छ ।
युथ लिडरसिप कर्नर अध्यक्ष कृष्ण बटाला लागुऔषध रोकथाम र नियन्त्रणका लागि समाजले काम गरिरहेको बताउँछन् । ‘सबैले थाहा पाएर रोकथामका लागि कोसिस गरेकै हुन् तर घटेको छैन,’ उनले भने । स्थानीय तहहरूले दुर्व्यसनी नियन्त्रणका लागि विद्यालयहरूमा विद्यार्थीहरूलाई सचेतना जगाउनेदेखि प्रहरीसँग साझेदारीमा गस्ती समेत गर्ने गरिरहेको उनले बताए । महिला स्वयमसेविका, आमा समूह, नगर प्रहरी र पालिकाका महिला बालबालिका शाखामार्फत स्थानीय तहहरूले लागुऔषध रोकथामका प्रयास गरिरहेको उनले बताए ।