नेभिगेशन
विश्व

युक्रेन युद्ध जितेको निष्कर्ष निकाल्दै पुटिन

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले आफ्नो ‘निश्चित’ लक्ष्य हासिल गर्ने बताएका छन् ।

‘विशेष सैन्य अभियानको लक्ष्य निश्चितरूपमा प्राप्त हुनेछ,’ मस्कोमा रक्षा मन्त्रालयका अधिकारीहरूसँगको बैठकमा पुटिनलाई उद्धृत गर्दै क्रेमलिनले जनाएको छ । ‘हामी द्वन्द्वको मूल कारणलाई कूटनीतिको माध्यमबाट समाप्त गर्न चाहन्छौं,’ उनले भने, ‘यदि ‘विरोधी देश र यसका विदेशी संरक्षकहरूले ठोस छलफलमा संलग्न हुन अस्वीकार गरेमा’ रुसले ‘सैन्य माध्यमबाट’ कब्जा गरेको युक्रेनी भूमि आफ्नो मुलुकमा गाभ्नेछ ।’

बर्लिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधिहरूसँग दुई दिनको वार्तापछि युक्रेनले सोमबार किएभको भविष्यको सुरक्षा सुनिश्चितताको प्रश्नमा भएको ‘प्रगति’ को प्रशंसा गरेसँगै रुसी नेता पुटिनको यो कडा टिप्पणी आएको हो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार युक्रेनले कुन क्षेत्र रुसलाई सुम्पनुपर्छ भन्ने प्रश्नमा मतभेद बाँकी छ । युक्रेनका युरोपेली सहयोगीहरूको सहभागिताबिना तयार गरिएको वासिङ्टनको प्रारम्भिक प्रस्तावमा किएभलाई आफ्नो पूर्वी डोनेट्स्क क्षेत्रबाट फिर्ता गर्ने र डोनेट्स्क, क्रिमिया र लुगान्स्क क्षेत्रहरूलाई रुसका रूपमा मान्यता दिने जनाइएको थियो ।

संशोधित योजनाको वर्तमान विषयवस्तु भने अस्पष्ट छ । यसअघि बुधबार क्रेमलिनले रुसले बर्लिनमा भएको वार्ताको परिणामबारे अमेरिकाबाट सूचनाको पर्खाइमा रहेको बताएको थियो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘हाम्रा अमेरिकी समकक्षीहरूले युक्रेनी र युरोपेलीहरूसँग उनीहरूको कामको परिणामको बारेमा हामीलाई सूचित गर्नेछन् भन्ने आशा गरेका छौं ।’

सन् २०२२ सेप्टेम्बरमा रुसले आधिकारिकरूपमा जापोरिज्झिया, डोनेट्स्क, लुगान्स्क र खेरसोन क्षेत्रहरू कब्जा गरेको दाबी गरेको थियो । ती सबैमा उसको पूर्ण सैन्य नियन्त्रण भने थिएन । यसैबीच रोक्का गरिएको रुसी सम्पत्ति प्रयोग गरेर युक्रेनलाई आर्थिक सहयोग गर्ने कुरामा ‘जबरजस्ती गर्न नमिल्ने’ इटालीले बताएको छ ।

ईयूको योजनाबारे आफ्नो धारणा राख्ने क्रममा इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले बुधबार ब्रसेल्समा उक्त भनाइ राखेकी हुन् ।

‘यी जटिल निर्णयहरू हुन्, यसमा जबरजस्ती गर्न सकिदैन,’ मेलोनीले बिहीबार र शुक्रबार युरोपेली परिषद् को बैठकअघि युरोपेली संसद्लाई सम्बोधन गर्ने क्रममा बताएकी हुन् ।

‘रुसले आक्रमण गरेको राष्ट्रको पुनर्निर्माणको लागि सबैभन्दा पहिले पैसा तिर्नुपर्छ, तर यो परिणाम ठोस कानूनी आधारमा प्राप्त हुनुपर्दछ भन्ने इटालीले स्पष्ट धारणा रहेको छ,’ उनले भनिन् ।

युरोपेली संघकी प्रमुख उर्सुला भोन डेर लेयनले आगामी दुई वर्षमा किएभलाई ९० अर्ब युरो ऋण प्रदान गर्न रुसी केन्द्रीय बैंकको फ्रिज सम्पत्ति प्रयोग गर्ने योजनालाई अघि बढाइरहेकी छन् । यो योजनाले बेल्जियमविरूद्ध रुसी प्रतिशोधको लागि बाटो खोल्न सक्छ भन्नेमा बेल्जियमलाई डर रहेको देखिन्छ तर अन्य ईयू देशहरूबाट भने रोक्का रकम युक्रेनलाई क्षतिपूर्ति बापत् दिलाइनुपर्ने बताउँदै आएका छन् । यद्यपि, ईयूके कतिपय मुलुकहरूले भने कानूनी र वित्तीय दायित्वहरू बाँड्ने वैकल्पिक ठोस सुनिश्चिततामा जोड दिइरहेका छन् । शिखर सम्मेलनमा सम्भावित विवादमा बेल्जियम सरकारलाई आश्वस्त पार्ने प्रयासहरूमा अहिलेसम्म अन्तिम निर्णय भने हुन सकेको छैन ।

सिद्धान्ततः ईयूका अन्य नेताहरूले बेल्जियमलाई दवाव दिनसक्छन् र भारी बहुमतका साथ पहललाई अगाडि बढाउन सक्छन् ।

मेलोनीले भनिन्, ‘इटालीले यस योजनाको लागि आफ्नो समर्थन दिएको छ । यसका बाबजूद पनि हामी प्रयोग गरिएको विधिसँग सहमत छैनौं ।’ उनले ‘सम्पत्तिको स्थिरीकरणबाट उत्पन्न तरलताको प्रस्तावित प्रयोगसँग सम्बन्धित प्रतिष्ठा, प्रतिशोध वा राष्ट्रिय बजेटमा नयाँ र व्यापक भारी बोझसँग सम्बन्धित सम्भावित जोखिमहरूको बारेमा स्पष्टता’का लागि उनले आह्वान पनि गरेकी छन् ।

रुसले गत हप्ता आफ्नो केन्द्रीय बैंकमार्फत बेल्जियममा रोक्का गरिएको सम्पत्ति रोखेको ‘यूरोक्लियर’ वित्तीय समूहलाई मुद्दा दायर गरिरहेको बताएको थियो ।

मेलोनीले भनिन्, ‘अन्य साझेदार राष्ट्रहरू अर्थात् बेल्जियमले पनि आ–आफ्नो वित्तीय प्रणालीमा सम्पत्ति रोक्का गर्ने रुसी सार्वभौम सम्पत्तिको एकल धारकमा ध्यान केन्द्रित गर्नु अदूरदर्शी हुनेछ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्