नेभिगेशन
अर्थतन्त्र

एनएमबि क्यापिटलको वित्तीय साक्षरता

काठमाडौं – एनएमबि क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसहित लगानीकर्ता चेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित उक्त कार्यक्रम काठमाडौं र नुवाकोटमा रहेका शैक्षिक संस्थाका विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिएको क्यापिटलले जनाएको छ ।

एनएमबि बैंक, बट्टार शाखाको सहकार्यमा सोमबार नुवाकोटको विदुरस्थित पोष्टबहादुर बोगटी पोलिटेक्निक इन्स्टिच्युटमा लगानीसम्बन्धी जनचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । सोही दिन काठमाडौंको टंगालस्थित टंगाल उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूसँग पनि वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम आयोजना गरिएको क्यापिटलले जनाएको छ ।

कार्यक्रमका सहभागी विद्यार्थीहरूलाई पुँजी बजारका विभिन्न पक्ष, लगानीका आधारभूत अवधारणा तथा हालका गतिविधिबारे जानकारी गराइएको थियो । साथै, अन्तरक्रिया सत्रमार्फत सहभागीहरूले उठाएका जिज्ञासाहरूको पनि समाधान गरिएको थियो । एनएमबि क्यापिटलले यस्ता कार्यक्रममार्फत युवापुस्तामा लगानीसम्बन्धी चेतना अभिवृद्धि गर्दै दीर्घकालीन वित्तीय साक्षरतामा योगदान पुर्‍याउने लक्ष्य लिएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्