नेभिगेशन
अर्थतन्त्र

भृकुटीमण्डपमा शुक्रबारदेखि फर्निचर एक्स्पाे

काठमाडौं – मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्सको सहकार्यमा आगामी शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ आयोजना हुने भएको छ ।

इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी पुस ४ देखि ६ गतेसम्म हुने भएको हो ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्राण्डका १०० भन्दा बढी स्टल रहनेछन् । प्रदर्शनीमा फर्निचर, प्लाइउड, काठका औजार, ल्यामिनेट, विभिन्न कम्पनीका डिलर, सब–डिलर तथा बिक्रेताहरूको उल्लेखनीय सहभागिता रहनेछ । काठ व्यवसायसँग सम्बन्धित उत्पादन, प्रविधि तथा नवीनतम समाधानबारे जानकारी दिने उद्देश्यले विगत १० वर्षदेखि यस्तो प्रदर्शनी आयोजना हुँदै आएको छ । एघारौं नेपाल उड प्रदर्शनीमार्फत विश्वभर ख्यातिप्राप्त कम्पनी तथा ब्राण्डका अत्याधुनिक सामग्री र प्रविधिलाई नेपाली बजारमा भित्र्याउने तथा स्वदेशी उद्योगहरूमा प्रयोग प्रवर्धन गर्ने लक्ष्य लिइएको छ । यसले साना तथा ठूला उद्योगहरूलाई प्रयोगमा रहेका मेसिनरी र प्रविधिको उन्नयन गरी उत्पादन क्षमता र प्रभावकारिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रदर्शनीमा सहयोगी संस्थाका रूपमा नेपाल हस्तकला महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, नेपाल प्लाइउड उत्पादक संघ तथा इन्टेरियर डिजाइनर एशोसिएसन नेपाल रहेका छन् ।

आयोजकका अनुसार प्रदर्शनीले नेपालमा काठ, फर्निचर र इन्टेरियर क्षेत्रको विकास तथा आधुनिकीकरणमा महत्त्वपूर्ण टेवा पुर्‍याउनेछ । प्रदर्शनीमा घर निर्माण गर्न चाहने व्यक्ति, सर्वसाधारण नागरिकका साथै देशका दिग्गज आर्किटेक्ट, इञ्जिनियर तथा इन्टेरियर डिजाइनरहरूको समेत उल्लेखनीय सहभागिता रहनेछ ।

प्रदर्शनीले विदेशमा सफलतापूर्वक प्रयोग भइरहेका नयाँ प्रविधि तथा सामग्रीलाई नेपाली बजारमा सहजरूपमा उपलब्ध गराउन सहयोग पुर्‍याउनुका साथै स्वदेशमा काष्ठ वस्तु उत्पादनसम्बन्धी गतिविधिलाई समेत सकारात्मक दिशा दिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्