नेभिगेशन
अर्थतन्त्र

होटल संघ पोखराको साधारणसभा

पोखरा – होटल संघ पोखराको ४३औं वार्षिक साधारणसभा मंगलबार पोखरामा सम्पन्न भएको छ । संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले साधारणसभाको उद्घाटन गर्दै संघले पोखराको पर्यटन प्रवर्धनमा खेलेको भूमिकाको प्रशंसा गरे । उनले व्यवसायीको हकहितमा संघ अझ सशक्तरूपमा अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा २४ घण्टा खुला रहेको भन्ने प्रचारले भ्रम सिर्जना भएको बताए । ४२ बुँदे आचारसंहिता पालना गर्न सक्ने व्यवसायीलाई मात्र २४ घण्टा सेवा दिन अनुमति रहेको उल्लेख गर्दै उनले पोखरा रातभरि खुला भन्ने हल्लाले व्यवसायी र पर्यटक दुवैलाई समस्या परेको बताए । ‘लेकसाइड र पोखरा रातभरि खुल्ला भन्ने हल्ला र भ्रम चलाइएको छ,’ उनले भने ।

पोखरा रातभर खुल्ला भन्ने भ्रमका कारण कतिपय आन्तरिक पर्यटकले राति दुई बजे पनि खाना अर्डर गर्दा व्यवसायीले दुःख पाएको उनले गुनासो गरे ।

सुवेदीले ‘जाऔं है पोखरा’, ‘चलौं पोखरा’ र ‘पोखराः प्योर एण्ड पर्फेक्ट’ जस्ता अभियानले आन्तरिक पर्यटकको आगमन उल्लेख्यरूपमा बढेको बताए । २५ बेडभन्दा माथिका होटेललाई वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य गरिएको विषय अव्यावहारिक भएको भन्दै उनले साना होटेल नवीकरणमा समस्या परेको बताए ।

कार्यक्रममा सचिव पार्वती पाण्डेले भावी कार्यक्रम र कोषाध्यक्ष नेत्रप्रसाद पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा होटेल संघ पोखरा नेपाल र संयुक्त समाज नेपालबीच पोखरालाई दिगो पर्यटकीय गन्तव्य बनाउने सम्झौता पनि सम्पन्न भयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्