नेभिगेशन
राजनीति

एमालेमा ओली पुनः अनुमोदित

जेनजी आन्दोलनपछि ओलीसँगै उभिएका नेताहरूलाई लोकप्रिय मत

काठमाडौं । जेनजी आन्दोलनले उठाएको राजनीतिमा पुस्तान्तरणको मागलाई नेकपा एमालेको ११औं महाधिवेशनले ठाडै अस्वीकार गरेको छ । महाधिवेशनले अध्यक्षमा तेस्रोपटक केपी शर्मा ओलीलाई शानदार जित दिलाएको छ । ६ दिन लगाएर काठमाडौंमा बिहीबार सम्पन्न महाधिवेशनमा ओली प्रतिस्पर्धी ईश्वर पोखरेललाई १ हजार ९९ मतको फराकिलो अन्तरले पछि पार्दै निर्वाचित भएका हुन् । जेनजी आन्दोलनपछि सत्ताबाट विस्थापित ओली महाधिवेशनबाट पार्टी नेतृत्वमा भने पुनःस्थापित भएका छन् ।

अध्यक्षमा ओलीले १ हजार ६ सय ६३ मत ल्याउँदा पोखरेलले ५ सय ६४ मत प्राप्त गरे । यो सँगै ओली एमालेभित्र लगातार तेस्रो पटक निर्वाचित अध्यक्ष बन्ने पहिलो नेता बनेका छन् । कार्यकाल लम्ब्याउन पार्टीको विधानमा उमेर हदको सीमा हटाउँदाको फाइदा ओलीले महाधिवेशनबाट लिएर देखाएका छन् । महाधिवेशनमा उनको प्यानलका अधिकांश नेताले जितेका छन् ।

निर्वाचित भएपछि उनले ‘केपी ओलीबिनाको एमाले’ भन्ने प्रतिक्रियावादी प्रयास असफल भएको बताएका छन् । ‘केपी ओलीबिनाको एमाले भन्ने जुन प्रतिक्रियावादीहरूको चेष्टा थियो, त्यसलाई तपाईंहरूले ध्वस्त पार्नुभएको छ,’ शपथग्रहण समारोहपछि ओलीले भने, ‘मैले पार्टीलाई अप्ठ्यारोमा परेका बेला चक्रव्यूह तोडेर अगाडि बढाउने नेतृत्व गर्दै आएको छु, त्यसको तपाईंहरूले उचित मूल्यांकन गर्नुभएको छ । मेरो इतिहास हेरेर तपाईंहरूले फेरि जुन विश्वास दिनुभएको छ, त्यसका लागि म तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु।’

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि ओलीमाथि पार्टीभित्र र बाहिरबाट भएको चर्को घेराबन्दी, पोखरेललाई पूर्वराष्ट्रपति विद्या भण्डारीको दरिलो साथ र उम्मेदवारी दर्तापछि केही विश्वासपात्रले साथ छाडेकाले पोखरेलले बलियो चुनौती दिने ठानिएको थियो । तर, मत परिणामले ओलीको अध्यक्षमा ह्याट्रिक गर्ने चाहना पार्टी महाधिवेशनले शानदार अनुमोदन गरेको छ ।

जेनजी प्रदर्शनमाथि भदौ २३ मा भएको गोली प्रहारको घटनामा १९ जना मारिएका थिए । त्यसको भोलिपल्ट प्रदर्शनले उग्र रूप लिएपछि तत्कालीन प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपरेको थियो । बालुवाटारबाट ज्यान जोगाउँदै सेनाको हेलिकप्टरमा उद्धार गरिएका उनी केही दिन गोप्य स्थानमा बसेपछि स्थिति मत्थर हुँदै जाँदा भक्तापुरको गुण्डुबाट सार्वजनिक भएका थिए । प्रधानमन्त्री बहाल रहँदै उनले आन्दोलनबाट खेदिनुपरेको थियो भने उपत्यका बाहिर जान सरकारले तोकेको स्थानहदका कारण ओली भक्तपुर र काठमाडौंमा सीमित थिए । आन्तरिक र बाह्य प्रतिकूलताकै बीच ओलीले एमालेभित्र आफू लोकप्रिय रहेको पुष्टि गरिदिएका छन् ।

ओली मात्रै होइन उनको प्यानलकै बहुसंख्यक उम्मेदवार विजयी भएका छन् । ओलीसँगै भदौ २३ र २४ को घटनाबारे उस्तै अभिव्यक्ति दिँदैआएका नेताहरू पनि पार्टीमा लोकप्रिय मतसहित विजयी भएका छन् । 

अध्यक्षपछि एमालेमा शक्तिशाली मानिने महासचिव पदमा ओली समूहकै शंकर पोखरेल निर्वाचित भए । १ हजार २ सय २८ मत ल्याएर पोखरेलले प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई पराजित गरे । पाण्डेले ९ सय ९९ मत प्राप्त गरे । पदाधिकारीमध्ये महासचिवमा भने ओली र पोखरेल प्यानलका उम्मेदवारबीच प्रतिस्पर्धा देखियो ।

त्यस्तै, ५ उपाध्यक्षमध्ये ४ जना ओली समूहबाटै विजयी भएका छन् । उपाध्यक्षमा सर्वाधिक लोकप्रिय मतसहित ओलीपक्षका पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् । गुरुङले १ हजार ७ सय ३७ मत प्राप्त गरे । उपाध्यक्षका लागि लोकप्रियता मतका आधारमा क्रमशः विष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्त निर्वाचित भए । ओली प्यानलका गुरु बराल उपाध्यक्षमा पराजित भए भने पोखरेल प्यानलका विष्ट निर्वाचित भए । 

त्यस्तै, उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २२ सय २७ खसेको मतमा भट्टले १ हजार ४ सय ५२ सर्वाधिक मत पाए । ईश्वर प्यानलबाट भट्टराई विजयी भएका छन् । महासेठले १३ सय ६८, भट्टराई १३ सय ४८ मत पाए । उपमहासचिवमा ओलीका विश्वासपात्र विष्णु रिमाल भने परािजत भए । उनी केन्द्रीय सदस्यमा पनि निर्वाचित भएनन् ।

९ जना सचिवका लागि भएको निर्वाचनमा सबै ओलीपक्षकै निर्वाचित भए । जेनजी आन्दोलनपछि सबैभन्दा बढी ओलीको बचाउमा उत्रिएका महेश बस्नेतले सर्वाधिक मत पाए । बस्नेत सचिवमा १ हजार ५ सय ३४ मतसहित विजयी हुँदा पद्माकुमारी अर्यालले १ हजार ५ सय ३०, छविलाल विश्वकर्मा १ हजार ५ सय ६ र शेरधन राई १ हजार ५ सय ३ मतले विजयी भएका छन् । हिक्मतकुमार कार्की १ हजार ३ सय ३७, खगराज अधिकारी १ हजार ३ सय ३१, यमलाल कँडेल १ हजार १ सय ८५ , राजन भट्टराई १ हजार १ सय ८१ र भानुभक्त ढकाल १ हजार १ सय ८ ले विजयी भएका छन् । पदाधिकारीमा जित्ने महिलामा अर्याल मात्रै हुन् । कार्की कोशी प्रदेश र कँडेल कर्णाली प्रदेशका मुख्यमन्त्री हुन् । कँडेल एमालेमा कर्णालीबाट पदाधिकारी निर्वाचित हुने पहिलो नेता भएका छन् ।

एमालेको ११औं महाधिवेशनले २४ बुँदे प्रस्ताव पारित गर्दै वर्तमान सरकार असंवैधानिक, अलोकतान्त्रिक र दण्डहीनता संस्थागत गर्ने दिशामा अघि बढेको आरोप पनि लगाएको छ । उसले जाँचबुझ आयोगलाई अमान्य घोषणा पनि गरेको छ । ‘यति गम्भीर, सुनियोजित र विभिन्न शक्ति केन्द्रहरू संलग्न घटनाको छानबिनका लागि दक्ष, विज्ञ र निष्पक्ष आयोग आवश्यक पर्दछ । तर सरकारले पूर्वाग्रही, दूषित सोचयुक्त र दुराशय बोकेका व्यक्तिको नेतृत्वमा कथित छानबिन आयोग गठन गरेको छ,’ एमालेले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘कुनै तथ्यले पुष्टि नगरे पनि तत्कालीन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत राजनीतिक नेताहरूलाई मुछ्ने पूर्व योजना बोकेको त्यस आयोगबाट सत्यतथ्य बाहिर आउँछ भन्ने विश्वास गर्न सकिँदैन । तसर्थ, यो महाधिवेशन उक्त आयोगलाई अमान्य घोषित गर्दछ र सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन आयोग बनाउनुपर्छ भन्ने माग राख्दछ ।’

पदाधिकारीमा पराजित, केन्द्रीय सदस्यमा निर्वाचित

अध्यक्षमा पराजित भएका ईश्वर पोखरेलसहित पदाधिकारीमा पराजित भएका १० नेता केन्द्रीय सदस्यमा भने निर्वाचित भएका छन् । अध्यक्षमा ५ सय ६४ मत पाएका पोखरेलले केन्द्रीय सदस्यमा भने १ हजार ८८ मत पाएका छन् । पोखरेल प्यानलबाट लडेर उपाध्यक्षमा ९ सय २१ मत बिन्दा पाण्डे केन्द्रीय सदस्यमा १ हजार १ सय २१ मतसहित निर्वाचित भएकी छन् । उपमहासचिवमा मनोनयन दर्ता गराएर पछि उम्मेदवारी निष्क्रिय गरेको घोषणा गरेका राजेन्द्र गौतमले केन्द्रीय सदस्यमा १ हजार २ सर ८५ मत ल्याए । सचिवमा पराजित भएका गोकुल बास्कोटा केन्द्रीय सदस्यमा १ हजार १ सय ९५ मत ल्याएर निर्वाचित भएका छन् ।

सचिवमा ८ सय ८३ मत ल्याएर पराजित ठाकुर गैरे केन्द्रीय सदस्यमा १२ सय ८४ मतले विजयी भए । सचिवमा ८ सय ७७ मत ल्याएकी रचना खड्काले केन्द्रीय सदस्यमा ११ सय २४ मत, सचिवमा ४ सय ९६ मत पाएका लालबाबु पण्डितले केन्द्रीय सदस्यमा १ हजार २ सय २ मत ल्याएर निर्वाचित भएका छन् । पदाधिकारीमा पराजित अग्नि खरेल पनि केन्द्रीय सदस्य निर्वाचित भए । सचिवमा कर्ण थापाले ८४७ मत ल्याए पनि केन्द्रीय सदस्यमा १ हजार २६ मत ल्याए भने उपमहासचिवमा ६ सय ३५ मत ल्याएर पराजिय आनन्द प्रसाद पोखरेल केन्द्रीय सदस्यमा भने ९ सय ९७ मतले निर्वाचित भए ।

नेकपा माओवादीबाट एमालेमा आएका रामबहादुर थापा बादल उपाध्यक्ष र लेखराज भट्ट उपमहासचिवमा लोकप्रिय मतसहित विजयी भए । एकीकृत समाजवादी हुँदै पुनः एमाले फर्किएकी रामकुमारी झाँक्री र किसन श्रेष्ठ पनि केन्द्रीय सदस्यमा विजयी भए । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डँगोल पनि केन्द्रीय सदस्य निर्वाचित भइन् । एमालेमा यसपटक ४० मुनिका १५ युवा खुला, प्रदेश र समावेशी क्लष्टरबाट केन्द्रीय सदस्य निर्वाचित भएका छन् । ओलीलाई ईश्वरको बधाई अध्यक्ष पदमा पराजित ईश्वर पोखरेलले विजयी नेतृत्वलाई बधाई दिँदै आफू हारे पनि पार्टीको अभियानमा आफ्नो संलग्नता अटुटरूपमा रहने बताएका छन् । उनले पराजित भएलगत्तै वक्तव्य जारी गरेर विजयी हुनेलाई बधाई र मतदातालाई धन्यवाद दिएका हुन् ।

उनले वक्तव्यमा भनेका छन्, ‘प्रतिस्पर्धामा यसपटक म विजयी बन्न नसके पनि मेरो अध्यक्ष पदमा भएको उम्मेदवारीप्रति आफ्नो विश्वासको मत प्रदान गर्नु हुने मतदाता प्रतिनिधि कमरेडहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। साथै, महाधिवेशनको दौरानमा उठाएका मुद्दाहरू – जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धतिअनुसार पार्टी सञ्चालन, पार्टीलाई सही र लोकतान्त्रिक तरिकाले सञ्चालन गर्न ‘नियन्त्रण र सन्तुलन’को सिद्धान्तको पालन आदि महत्त्वपूर्ण विषयहरूले बहस र छलफलले नयाँ स्तरमा निरन्तरता पाउने कुरामा विश्वास व्यक्त गर्दछु।’ उनले आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा आफ्नो सहभागिता र संलग्नता अटुटरूपमा रहिरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्