काठमाडौं – निजी क्षेत्रले ऊर्जा व्यापारमा विद्युत प्राधिकरणसँग सहकार्यको प्रस्ताव गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को टोलीले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग भेटेर विद्युत व्यापार र प्रसारण लाइन निर्माण सहकार्यको प्रस्ताव गरेको हो ।
बिहीबार भएको भेटमा इप्पानको प्रतिनिधि मण्डलले निजी क्षेत्र प्रसारण लाइन निर्माण र विद्युत व्यापारका लागि सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै त्यसका लागि वातावरण बनाउन आग्रह गरेको छ । निजी क्षेत्र र प्राधिकरणसँगको सहकार्यमा निर्माणधीन प्रसारण लाइन आयोजना छिटो पुरा हुने चरणमा रहेको दृष्टान्त टोलीले दिएको थियो । आयोजनाहरूमा पनि सहकार्य गर्न तथा प्राधिकरणले स्थापना गरेको विद्युत व्यापार कम्पनीको सेयर होल्डरको रुपमा निजी क्षेत्रलाई भित्र्याएर त्यहाँमार्फत समेत दुवै मिलेर सहकार्य गर्नुपर्ने प्रस्ताव गरेको हो । इप्पान अध्यक्ष गणेश कार्कीले प्रसारण लाइन अभावको कारणले ठूलो समस्या भोगेको उल्लेख गर्दै प्राधिकरणसँग सहकार्य गर्नुपर्ने अवस्था रहेको बताए । विद्युत व्यापारका लागि निजी क्षेत्रलाई अनुमतिपत्र नदिएसम्मका लागि समेत प्राधिकरणको व्यापार कम्पनीमा निजी क्षेत्रलाई सहभागी गराएर व्यापार अघि बढाउन सकिने तर्क उनले गरे ।
अध्यक्ष कार्कीले विद्युत खरिद सम्झौता (पीपीए) तुरुन्तै खुला गर्न, आरसीओडी म्याद थप गर्न, कन्टिन्जेन्सी व्यवस्था खारेज गर्न, हाइड्रोलोजी पेनाल्टी खारेज गर्नुपर्ने मा जोड दिँदै यस्ता मागहरू तुरुन्तै सम्बोधन गर्नुपर्ने बताए । इप्पान वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले निजी क्षेत्र र प्राधिकरणसँग सँगै अघि बढेर मात्र ऊर्जा क्षेत्रको विकास हुनु बताउँदै दुवैको सहकार्य बलियो हुनुपर्ने बताए । इप्पान उपाध्यक्ष उत्तम ब्लोन लामा, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाशचन्द्र दुलाल लगायतले प्राधिकरणले उपयुक्त मोडल ल्याएर निजी क्षेत्रलाई प्रसारण लाइनमा सहभागी गराउनुपर्ने बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले निजी क्षेत्रले समयमै प्रसारण लाइन निर्माण गर्न सक्ने अवस्था रहेको बताउँदै सहकार्य सम्भव हुने बताए । निजी क्षेत्र र प्राधिकरण मिलेर प्रसारण लाइन निर्माण गर्ने अभ्यास सुरु भइसकेकाले अन्य क्षेत्रमा पनि सहकार्य हुने उनले उल्लेख गरे ।
‘प्रसारण लाइनको समस्या सबैभन्दा बढी देखिएको छ, यसको कारणले कन्टीजेन्सी लगायतका समस्या आएको हो । प्रसारण लाइन निर्माणले धेरै समस् या समाधान हुन्छ,’ उनले भने, ‘प्राधिकरणसँग पर्याप्त बजेट नभएको बेलामा निजी क्षेत्रको लगानी ल्याउन सकिएमा यसले प्रसारण लाइनको मुख्य समस्या समाधान गर्छ ।’ निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराएर उत्पादन र खपतबीचको सन्तुलनको आवश्यकता रहेको बताउँदै प्राधिकरणको व्यापार कम्पनीमा निजी क्षेत्रको सहभागिताबारे भने अध्ययन गर्ने बताए । उनले विद्युत व्यापार कम्पनी सक्रिय बनाउन लागिएको पनि जानकारी दिए ।