नेभिगेशन
अर्थतन्त्र

आइपीओमा आवेदन खुला

काठमाडौं – भुजुङ हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन खुलेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि साधारण शेयर बिक्री खुलाएको हो ।

७.५ मेगावाटको माथिल्लो मिदिम जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले बिहीबारदेखि स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि शेयर बिक्रीको आवेदन खुला गरेको जनाएको छ ।

कम्पनीका अनुसार स्वपुँजी लगानीको २० प्रतिशत हुन आउने प्रतिकित्ता एक सय रुपैयाँ मूल्यमा २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । उक्त २० लाख कित्ता मध्ये १० लाख कित्ता आयोजनाको संरचना निर्माण हुने लमजुङको क्होलासाेंथर गाउँपालिकाका बासिन्दाका लागि छुट्याइएको छ । उक्त गाउँपालिकाको वडा नम्बर ४ सबैभन्दा प्रभावित वडामा पर्छ । १, २, ३, ५, ६, ७, ८ र ९ वडाका बासिन्दा पनि प्रभावित क्षेत्रभित्र नै पर्ने भएकाले सबैका लागि शेयर छुट्याइएको कम्पनीले जनाएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले छिटोमा आगामी पुस १७ गतेभित्र र ढिलोमा माघ २ गतेसम्म शेयर आवेदन दिइसक्नु पर्नेछ ।

यस्तै, वैदेशिक रोजगारीका लागि गएका नेपालीका लागि पनि एक करोड रुपैयाँ मूल्य बराबरको हुन आउने एक लाख कित्ता शेयर जारी गरिएको छ । योग्य व्यक्तिले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म शेयर आवेदन दिन पाउने छन् । पुस ७ गतेभित्र आवेदन दिइसक्नुपर्ने समयसीमा छ । इक्रा नेपालले यो कम्पनीलाई ‘बी प्लस’ रेटिङ दिएको छ ।

कम्पनीको साधारण शेयर निष्कासन तथा बाँडफाँडका लागि बिक्री प्रबन्धक कुमारी क्यापिटल हो । गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ छ । यो भनेको प्रतिशेयर १०.८१ रुपैयाँ ऋणात्मक हो ।

कम्पनीले लगानी गरेको ७.५ मेगावाटको माथिल्लो मिदिम जलविद्युत आयोजना निर्माणाधीन छ । यो आयोजना प्रतिमेगावाट २४ करोड ९० लाख रुपैयाँमा सम्पन्न गर्न लागत अनुमान गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्