नेभिगेशन
अर्थतन्त्र

ब्रिटिस काउन्सिलको उपहार विजेता घोषणा

काठमाडौँ  – ब्रिटिस काउन्सिलको आईईएलटीएस उपहार को तेस्रो संस्करणका विजेतालाई पुरस्कृत गरिएको छ । आईईएलटीएस परीक्षामा सहभागी भएका विद्यार्थीबाट विजेता बनेकाहरूलाई काउन्सिलले बुधबार आयोजना गरेको कार्यक्रममा पुरस्कृत गरेको हो ।

सन् २०२४ को आईईएलटीएस उपहार को सफलतापछि सो कार्यक्रमलाई थप परिमार्जित बनाउने उद्देश्यसहित परीक्षामा सहभागी भएका विद्यार्थीका लागि काउन्सिलले कार्यक्रम आयोजना गरेको हो । यसपटक १५ अगस्टदेखि ३० नोभेम्बर सम्म पेपर वा कम्प्युटरमार्फत आईईएलटीएसको परीक्षा दिनका लागि दर्ता भएका र आवश्यक शुल्क बुझाएका विद्यार्थी सहभागी भएका थिए । सहभागीमध्ये ९७ जना विद्यार्थीले उपहार जितेका छन् । साप्ताहिक लक्की ड्रबाट पुरस्कार जित्ने विद्यार्थीको नाम काउन्सिलको फेसबुक पेजबाट सार्वजनिक गरिएको थियो ।

यस वर्ष तीन जना मासिक रूपमा विजेता भएका थिए भने चार जनाले बम्पर पुरस्कार जितेका छन् । मासिक रूपमा विजेता भएका तीन जनाले एप्पलको म्याकबुक एयर प्राप्त गरेका छन् । त्यस्तै, तीन जनाले बेलायत, युरोप र अमेरिकाका लागि टर्कीस एयरलाइन्सले प्रयोग गरेको एकतर्फी हवाइ टिकट जितेका छन् भने एक जनाले अस्ट्रेलिया जानका लागि ब्रिटिस काउन्सिलले प्रयोग गरेको हवाइ टिकट जितेका छन् । पुरस्कार वितरण समारोहमा आईईएलटीएसको दर्ताका लागि योगदान गरेका १० वटा साझेदार संस्थामध्ये तीन वटाको चयन गरेर पुरस्कृत गरिएको थियो । आईईएलटीएसको प्रवर्द्धनका लागि सहयोग गरेवापत तीन वटा साझेदारलाई आइप्याड प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै ब्रिटिस काउन्सिल नेपालकी निर्देशक प्रतिष्ठा थापाले क्षमतावृद्धि र उपलब्धता बढाउँदै परीक्षामा सहभागीका लागि उनीहरूको रोजाइ, सुविधा र गुणस्तरमा ध्यान केन्द्रित गरेको बताइन् । उनले विद्यार्थीलाई उच्च शिक्षाको खोजीका लागि आत्मविश्वासका साथ अघि बढ्न सुरक्षित र उच्च गुणस्तरीय मूल्याङ्कन निरन्तर भइरहेको जानकारी दिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्