नेभिगेशन
अर्थतन्त्र

ग्लोकल आफ्ट स्कूलद्वारा ‘स्किल वीक २०२६’ घोषणा

काठमाडौं – सीप विकास, सिर्जनशीलता र युवा सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ग्लोकल आफ्ट स्कूलले साताव्यापी कार्यक्रम ‘स्किल वीक २०२६’ आयोजना गर्ने भएको छ । कार्यक्रम आगामी जनवरी ११ देखि १९, २०२६ सम्म सञ्चालन हुनेछ । यसअन्तर्गत विभिन्न कार्यशाला, प्रतियोगिता, प्रयोगात्मक सिकाइ, प्रदर्शनी तथा युवा केन्द्रित गतिविधिहरू आयोजना गरिने स्कूलले जनाएको छ ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा जनवरी १६ मा ‘फेस्ट डे’ र जनवरी १९ मा समापन समारोह आयोजना गरिनेछ । ग्लोकल आफ्ट स्कूलको सीप–आधारित सिकाइ अवधारणाबाट प्रेरित ‘स्किल वीक २०२६’ लाई “घटना, सिर्जनशीलता, सीप, प्रेरणा र अन्तर्दृष्टिले भरिएको एक साता” का रूपमा प्रस्तुत गरिएको छ ।

कार्यक्रमको उद्देश्य युवाहरूलाई शिक्षासँगै मनोरञ्जनको संयोजनमार्फत जीवनोपयोगी तथा व्यावसायिक सीप विकास गर्न प्रेरित गर्नु रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमअन्तर्गत जनवरी ११ देखि १५ सम्म नेतृत्व, प्रविधि, सञ्चार, सिर्जनशीलता र उद्यमशीलता विषयमा कार्यशाला, मास्टरक्लास, प्रतियोगिता तथा अन्तर्क्रियात्मक सिकाइ सत्रहरू सञ्चालन हुनेछन् ।

जनवरी १६ को ‘फेस्ट डे’ मा सीप प्रदर्शनी, प्रत्यक्ष प्रदर्शन, सांगीतिक कार्यक्रम, युवा प्रतिभा प्रस्तुतिकरण, नेटवर्किङ स्पेस, खेलकुद तथा विभिन्न स्टलहरू रहनेछन् । सोही दिन ‘सीईओ अनप्लग्ड’ फोरम पनि आयोजना गरिनेछ, जहाँ उद्यमी, व्यवसायी र विद्यार्थीबीच व्यावसायिक चुनौती र भविष्यका सम्भावनाबारे छलफल गरिनेछ ।

जनवरी १७ र १८ मा उद्योग र शिक्षा क्षेत्रबीचको अन्तर्क्रिया तथा नेशनल बिजनेस केस स्टडी प्रतियोगिताको फाइनल चरण आयोजना हुनेछ । जनवरी १९ मा समापन समारोहसँगै साताभरिका गतिविधि र उपलब्धिको समीक्षा हुनेछ ।

सो अवसरमा कला तथा संस्कृति, पर्यटन तथा आतिथ्य, विज्ञान तथा प्रविधि र उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई ‘स्किल हिरोअवार्ड्स’ प्रदान गरिनेछ ।

ग्लोकल आफ्ट स्कूलका अध्यक्ष आशिष ठाकुरले युवाहरूले सिक्ने, प्रयोग गर्ने र आफ्नो क्षमतालाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्