नेभिगेशन
राजनीति

रवि गरम, कुलमान नरम

जगन्नाथ दुलाल
काठमाडौं, पुस ५
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने  कांग्रेस, एमालेलगायतका पुराना दलप्रति गरम देखिँदा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ भने नरम देखिएका छन् । सुप्रिम सहकारी ठगी प्रकरण र संगठित अपराध मुद्दामा कारागारमा रहेका लामिछाने उच्च अदालतको आदेशमा धरौटीमा छुटेलगत्तै शनिबार चितवन पुग्दा ऊर्जा, सहरी एवम् भौतिक मन्त्री घिसिङ पनि उज्यालो नेपाल पार्टीको भेलामा सहभागी हुन चितवन थिए । 

चितवनको चौबिसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछाने पुराना दलमाथि आक्रामक सुनिए । उनको मुख्य आक्रोश भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सत्ताबाट विस्थापित हुनपुगेका एमाले र कांग्रेस नेताप्रति थियो । 

पुराना पुस्ताका नेताहरूतर्फ लक्षित गर्दै लामिछानेले उनीहरूले देशलाई नै दुःख दिएको र त्यसका अगाडि आफूलाई दिएको दुःख केही नभएको बताए । उनले भने, ‘यिनले मलाई अन्याय गरे मलाई थुने, दुःख दिए भनेर के चित्त दुखाउनु । सिंगो देशलाई दुःख दिएका छन् । सिंगो देशको अगाडि मलाई दिएको दुःख केही होइन । सिंगो देश र पुस्तालाई दिएको दुःखको हिसाब मिलाउनु छ । यिनीहरूसँग लड्नु र बदला लिन कुनै जरुरी छैन ।’ 

उनले जेनजीहरूले गरेको आन्दोलनको प्रशंसा पनि गरे । आफूहरूले २०८४ को चुनावमा पुराना दलहरूलाई पराजित गर्न खोजेको भन्दै उनले ०८२ मै जेनजीले हिसाब गरिदिएको बताए ।  ‘म जेनजी पुस्ताका दाजुभाइ दिदीबहिनीहरूलाई सलाम भन्न चाहन्छु, हामीले त चुनाव कुरेका थियौं, तपाईंहरूले चुनाव सुनाव कुर्नुभएन । बजाइदिनुभयो,’ लामिछानेले भने । 

सहकारीको रकम अपचलनको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश सर्वोच्च अदालतले सदर गरेपछि लामिछाने पक्राउ परेका थिए । केही समय रुपन्देही जिल्ला कारागारमा बसेका लामिछानेलाई उनकै मागअनुसार गत साउन ३१ गते रुपन्देही जिल्ला कारागारबाट ललितपुरको नक्खु कारागारमा स्थानान्तरण गरिएको थियो । भदौ २४ गते जेनजी आन्दोलन उत्कर्षमा रहेका बेला  ‘कारागार प्रशासनले थुनामुक्त’ गरेको भन्दै उनी कारागारबाट बाहिर निस्किएका थिए । लामिछाने निस्किएपछि देशभरका कारागारबाट करिब १४ हजार कैदीकन्दी भागे । केही ठााँ भाग्ने घम्साघम्सीमा सेनाले गोली चलाएको थियो, जसका केही कैदी मारिएका थिए । 

झुठो पत्र देखाएर आफू छुटेको दाबी गरेका लामिछाने व्यापक आलोचना हुन थालेको ५ दिनपछि पुनः नख्खु कारागार नै फर्किएका थिए । पुस ३ गते उच्च अदालत बुटवलको तुलसीपुर इजलासले उनलाई सर्तसहित १ करोड रुपैयाँ यसअघि जिल्ला अदालतले तोकेको धरौटी रकम र बिगोबापतको रकमका लागि २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक ग्यारेन्टी लिएर  तारेखमा छाड्न आदेश दिएको थियो । बिहीबारको उक्त आदेशपछि शुक्रबार भैरहवा पुगेर धरौटी बुझाइ कागजी प्रक्रिया पूरा गरेका लामिछाने उतैबाट शनिबार चितवनमा सभा गर्न पुगेका हुन् । अघिल्ला दुई निर्वाचनमा सर्वाधिक मतसहित चितवनबाटै सांसद निर्वाचित उनले छुटेपछि आफूमाथि अन्याय भएको बारम्बार दोहो¥याए । 

‘मलाई डस्ने सर्पहरू मरे कि मरेनन् थाहा भएन तर यिनले मेरो शरीरमा दिएको विष बोकेर म आज पनि बाँचिरहेको छु । मेरो शरीरमाथि बसेको विष अझै पनि बाँकी छ । म यो विषय लिएर पनि लड्छु,’ उनले भने, ‘जेनजी भाइबहिनीहरूको रगतको थोपा खेर जान दिन्नँ ।’

भाषणमा विगतका सत्ताधारी दलका नेताहरूप्रति गरम सुनिएका लामिछानेले जेनजी पुस्ताको सहानुभूति पाउन सक्दो कोसिस गरे । जेनजी आन्दोलनलाई ‘जनआन्दोलन’ भन्दै आफूले त्यसको पक्षमा रहेको उद्घोष गरे । तर, सहकारीको रकम अपचलन र  विगतमा जीबी राईसँग मिलेर ठूलो तामझामका साथ आफ्नै पहलमा खोलेको ग्यालेक्सी टेलिभिजनका विषयमा एक शब्द पनि खर्चिएनन् । 

चितवनमा सभापछि हवाईजहाजमा काठमाडौं ओर्लिएका लामिछानेले उपत्यकाका विभिन्न अस्पताल पुगेर जेनजी आन्दोलनका घाइतेसँग भेट गरेका छन् । घाइते भेट्नुअघि उनले बबरमहलस्थित जेनजी सहिद परिवार कल्याणकारी संस्थाको कार्यालय पुरेर छलफल पनि गरेका थिए । उनले जेनजी प्रतिनिधिहरूलाई आफ्नो पूर्ण सहानुभूति रहेको भन्न छुटाएनन् ।


प्रतिष्ठा ठाउँमा राखेर दल गठन 
शनिबार चितवनमा लामिछानेले आक्रामक भाषण गरिरँदा  कुलमान घिसिङ भने शान्त सुनिए । उज्यालो नेपाल पार्टीको भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिलेसम्म आफूले कमाएको प्रतिष्ठा दाउमा राखरै भए पनि पार्टी खोलेर अगाडि बढेको बताए । 

उनले देशमा ठूला भनिएका राजनीतिक दलहरूले परिवर्तनमा भूमिका खेलेको बताए । तर, सुशासन र भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्न नसक्दा जनतामा आक्रोश आएको उनको भनाइ थियो ।  उनले आफूले अन्य कुनै पनि राजनीतिक दल र तिनका नेताविरुद्ध गालीगलौज र अनावश्यक लान्छाना लगाएर कहिल्यै नबोल्ने बताउँदै अहिले आफ्नाविरुद्ध विभिन्न षड्यन्त्र गरेर बदनाम गराउने प्रयत्न सुरु भएको बताए । उनले लामिछानेजस्तो पुराना दलहरूविरुद्ध आक्रोस भने पोखेनन् ।  

त्यस्तै, घिसिङले कतिपयले आफूलाई राजनीति नगर्न सुझाव दिएको बताउँदै राजनीति पार्टीबाट नै देशलाई अगाडि बढाउने सोचले राजनीतिमा होमिएको बताए । उनले भने, ‘अब मैले के गर्ने कि त धार्मिक संस्थामा जोडिएर काम गर्न प¥यो कि त अरु सामाजिक संघसंस्थामा बसेर काम गर्नुप¥यो । ती संस्थामा बसेर देशमा ठोस परिवर्तन गर्न सकिँदैन भनेर राजनीतिमा लागें ।’

उनले नयाँ राजनीतिक दलहरूका बीचमा आगामी चुनावमा सहकार्य गर्न अझै सकिने भन्दै उनले अबको चुनावमा जनताले सही पार्टी र नेता छान्ने अवसर आएको बताए । पुराना राजनीतिक दलमा पनि राम्रा र असल मान्छेलाई जनताले जिताउनुपर्ने उनको मत छ । 

नयाँ पार्टीहरूका बीचको एकतामा आफू खुला रहेको पनि उनले बताए । नयाँ पार्टीबिच एकता गर्दा कुनै पनि स्वार्थ राख्न नहुने भन्दै उनले आज मिलेर भोलि नै फुट्ने एकता भने नगरिने बताए । अहिले रास्वपा, उज्यालो नेपाल पार्टी र काठमाडौंका मेयर बालेन्द्र शाहबीच एकता हुनुपर्ने पक्षमा जेनजी आन्दोलन पक्षधरहरू देखिएका छन् । 

घिसिङको संरक्षकत्वमा उज्यालो नेपाल पार्टी खुलेको हो । तर, अहिले चुनावी सरकारको मन्त्री भएकाले घिसिङलाई दलको नेताका रुपमा नखुल्न दबाब छ । सोही कारण सो पार्टीको घोषणा सभामा प्रमुख अतिथिका रूपमा पुगेका उनले उज्यालो नेपाल पार्टीलाई अतिथिका रूपमा शुभकामना दिएका थिए । तर, अहिले घिसिङ उज्यालो नेपाल पार्टीको भेलाहरूमा सहभागी हुन थालेका छन् । घिसिङ अहिले उज्यालो नेपाल पार्टीको कार्यक्रममा विभिन्न जिल्ला पुगिरहेका छन् ।

आफूले नेतृत्व गरेका मन्त्रालयमातहतका कामको अनुगमन निरीक्षणमा सक्रियता देखाएका घिसिङले रुग्ण ठेक्का तोडेर नयाँ प्रक्रिया सुरु गराएका छन् । अनुगमनका विभिन्न मौकामा पार्टीका कार्यक्रम पनि भ्याएका छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्