नेभिगेशन
राजनीति

‘चुनावी तयारी थालेका छौं’

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले संसदीय निर्वाचनमा भाग लिन पार्टीले तयारी सुरु गरेको बताएका छन् । ‘नेपाली कांग्रेस र नेपालको यात्रा, ‘हिजो, आज, भोलि’ चुनौती अवसर र सम्भावना’बारे युवासँग संवाद विषयक आइतबार विराटनगरमा आयोजित अन्तर्क्रियामा उनले आगामी निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन केन्द्रीय समितिले निर्णय गरिसकेको जानकारी दिए ।

नेता डा कोइरालाले सरकारले भयरहित निर्वाचनको वातावरण बनाउन शान्ति सुरक्षा, जघन्य अपराध गरेका पाँच हजार फरार कैदी पक्राउ एवं लुटिएका हातहतियार बरामद गरी प्रहरीको मनोबल उठाउने कार्य गर्नुपर्ने सुझाव दिए । उनले भने, ‘वर्तमान अवस्थामा निर्वाचनबाहेक अर्को कुनै विकल्प नभएकाले तोकिएको समयमा सम्पन्न गर्न सरकारले आफ्नो कार्य गर्नुपर्छ ।’ सबै राजनीतिक दलका युवापुस्तालाई स्थानीय निकायमा ४०, प्रदेशमा ३० र संघमा २० प्रतिशत प्रतिनिधित्व गराएमा मुलुकमा सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शीता र जवाफदेहिता कायम हुनसक्ने उनको भनाइ थियो । नेता कोइरालाले सामुदायिक विद्यालयको शिक्षालाई अब्बल बनाउन शिक्षकलाई राजनीतिबाट टाढा राख्नुपर्ने धारणा राखे । उनले विगतको सरकारले बजेट वितरणमा भेदभावका कारण विराटनगर महानगरपालिका अन्यभन्दा पछाडि परेको आरोप लगाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्