नेभिगेशन
राजनीति

रवि भए पार्टीमा सक्रिय

केपी ओलीलाई कटाक्ष गर्दै भन्छन् – कुन संसद् पुनःस्थापनाको कुरा गर्न लाग्नुभएको ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टीको काममा फर्किएका छन् । उनलाई पार्टी कार्यालयमा आइतबार उपसभापति डीपी अर्यालले स्वागतको औपाचारिकता गरे । उनको स्वागतका लागि रास्वपाका नेता, कार्यकर्ता पञ्चेबाजासहित केन्द्रीय कार्यालय पुगेका थिए ।

सुप्रिम सहकारीको बचत रकम अपचलनमा कारगारमा रहेका लामिछाने गत शुक्रबार धरौटीमा छुटेपछि शनिबार चितवनमा सभा गरेर साँझ काठमाडौं आएका थिए । त्यसपछि आइतबार पार्टीको केन्द्रीय कार्यालय पुगेका हुन् ।

उनले आफू पुर्पक्षका लागि जेल चलान भएपछि गत पुस ८ मा उपसभापति अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका थिए । रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले केन्द्रीय समिति बैठकबाट सभापति लामिछाने विधिवत रूपमा पार्टी काममा फर्किएको जानकारी दिए ।

सभापति लामिछानेले केन्द्रीय कार्यालय वनस्थली पुगेपछि उपस्थित आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै आफू पार्टी काममा फर्किएको जानकारी गराए । ‘म पार्टीको जिम्मेवारीमा फर्केको छु। मैले न्याय पाउन बाँकी छ । न्यायमा लडिरहनेछु। मैले भन्दै आएको कुरा फेरि दोहोर्‍याउन चाहन्छु। मैले आफ्नो न्यायका लागि त लड्नु छँदैछ, तर त्यो भन्दा धेरै सिंगो देशका लागि भएको अन्यायका लागि लड्नु महत्वपूर्ण छ । मलाई यहाँहरूको साथको आवश्यकता छ ,’ उनले भने ।

लामिछानेले संसद् पुनःस्थापनाका लागि भइरहेको प्रयासमाथि आक्रोस व्यक्त गरे । ‘म सुनिरहेको छु, संसद् पुनःस्थापनाका लागि दौडधुप गर्न थाले रे । कुन संसद् पुनःस्थापनाको कुरा गर्न लाग्नुभएको ? कुन संसद् ब्युँझाउन खोज्नुभएको ? जनताका मुद्दा राख्दाराख्दै माइक काट्ने संसद् ब्युँझाउन खोज्नुभएको ?,’ लामिछानेले भने, ‘षड्यन्त्रको आँखा बन्द गर्नुहोला । धेरै आँखा नचम्काउनुहोला ।’ उनले भत्किएको सिंहदरबार बनाएर मात्रै नभइ बदल्नुपर्ने अवस्था आएको बताए ।

आफ्नै अध्यक्षतामा बसेको बैठकमा उनले आफ्नो अनुपस्थितिमा पार्टीभित्र जिम्मेवारी पूरा गर्ने सबैको प्रशंसा गरेका थिए । ‘अझै धेरै संघर्ष र धेरै जिम्मेवारी बाँकी छ । पार्टीका विभिन्न जिम्मेवारीमा रहनुभएका सबैलाई संयमित र अनुशासित रहन अनुरोध गर्छु,’ लामिछानेले बैठकमा भने ।

लामिछानेले आइतबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । पार्टी नेताहरूका साथ पुगेका उनले प्रधानमन्त्री कार्कीसँगै मन्त्रिपरिषद् सदस्यहरूसँग केहीबेर छलफल गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्