नेभिगेशन
प्रदेश

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर । भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले मंसिर महिनामा जिल्लामा घटेका घटनाको विवरण आइतबार सार्वजनिक गर्दै १४ वटा गम्भीर अपराधका घटना भएका जनाएको हो ।

परिसरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रकाश जवेजुले एक महिनामा ३७ जना पक्राउ परेका जनाउँदै १३२ मुद्दा दर्ता भएका उल्लेख गरे । उनका अनुसार आठ वटा लागुऔषधसम्बन्धी, चार वटा जबर्जस्ती करणी, दुई वटा मानव बेचबिखनका घटना भएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धी अपराधका घटना बढी देखिएका उनले बताए ।

त्यस्तै, जिल्लामा बैंकिङ कसुरका मुद्दा सबैभन्दा बढी भएका जानकारी दिँदै परिसरका सूचना अधिकारी जवेजुले मङ्सिरमा ७१ वटा आर्थिक अपराधका घटनाअन्तर्गत बैंकिङ कसुरसम्बन्धी ६७ मुद्दा परेका बताए । सार्वजनिक चासो रहेको कर्तव्य ज्यानका दुई वटा मुद्दाको सफल अनुसन्धान गरेको, फैसला कार्यान्वयनबाट ३७ जना पक्राउ गरी रु ३८ लाख १३ हजार ८०० जरिवाना भराएको उनले बताए ।

सूचना अधिकारी जवेजुले निजहरूलाई सात वर्ष छ महिना १६ दिनको कैद सजायको फैसला गरिएको छ भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ परेका ४९ मध्ये ३३ वटा मुद्दामा मिलापत्र र १६ वटाको काम बाँकी रहेको जानकारी दिए । उनका अनुसार १८ देखि ४० वर्षसम्मका ३३, ४० देखि ६० वर्षसम्मका निवेदनमा १६ जना पीडित छन् भने पीडकको उमेर समूहका आधारमा तथ्यांक विश्लेषण गर्दा १८ देखि ४० वर्षका ३६ जना र ४० देखि ६० वर्षसम्मका २० जना छन् ।

मङ्सिर महिनामा आठ जना महिला हराएकामध्ये छ जना फेला पारेका छन् भने सात जना पुरुष हराएकामध्ये पाँच जना फेला, ११ जना हराएका बालिकामध्ये सबै फेला पारेका छन् । घरेलु हिंसामा श्रीमान् श्रीमतीको झगडाका २० वटा उजुरी परेकामा हालसम्म ११ वटाको मिलापत्र गरिएको प्रहरीले जनाएको छ ।

ठाडो उजुरीतर्फ २०१ दर्ता भएकामा १६७ फर्छ्याैट भएका भन्दै प्रहरीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरी कार्यालयमा आएका उजुरीको संख्या ४४ रहेकामा ४० फर्छ्याैट भएको जनाएको हो । लागुऔषधका आठ घटनामा १२ जना पक्राउ परेका जनाउँदै प्रहरी नायब उपरीक्षक जेवेजुले विभिन्न लागुऔषधसमेत बरामद गरिएको बताए । जिल्ला प्रहरी कार्यालय भक्तपुरले मङ्सिरमा पाँच वटा आत्महत्याका घटना भएको पुष्टि गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्