नेभिगेशन
प्रदेश

ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

म्याग्दी । रघुगंगा गाउँपालिका वडा नम्बर ७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

चिमखोलाका तारा गर्बुजा पुन, लोकिन पुन, गोपिन पुन र हिरे पुनले काठ तथा जस्तापाटाको प्रयोग गरेर समुन्द्री सतहदेखि तीन हजार ८४० मिटर उचाइमा रहेको सोवाङधुरीमा आश्रयस्थल भवन निर्माण गरेका हुन् । सोवाङ धुरी घुम्न जाने पर्यटक र पाहुनालाई ओढारमा रात काट्नुपर्ने अवस्थाको अन्त्य गराउनका लागि २० जना क्षमताको आश्रयस्थल निर्माण गरिएको गर्बुजाले बताए ।

‘तत्काललाई त्यहाँ जाने पाहुना र पर्यटकले उपभोग गर्न पाउने आश्रयस्थलको भवनमा दीर्घकालीन रुपमा रेष्टुरेन्ट सञ्चालन गर्न वडा कार्यालयसँग सहमति भएको छ’, गर्बुजाले भने, ‘सोवाङ धुरीबाट प्याराग्लाडिङको परीक्षणको तयारीमा छौं ।’ म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा समेटिएको सोवाङ धुरीबाट संसारको सातौं आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको फेददेखि चुचुरोसम्मको दृष्यावलोकन गर्न पाउनु मुख्य विशेषता हो ।

सूर्योदयका साथै गुर्जा, धवलागिरि, अन्नपूर्ण, नीलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमश्रृंखलाको अवलोकन गर्न सकिन्छ । बागलुङ बजार, ढोरपाटन सिकार आरक्ष, पुनहिल, मोहरेडाँडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वतका ग्रामीण बस्ती, पहाडी भूगोलको मनोरम दृष्य देखिन्छ ।

सोवाङ धुरी जाने पदमार्गमा पर्ने जंगलमा घोरल, मृगलगायत जनावर र पाँचऔँले, सेदक चिनीलगायत जडीबुटी अवलोकन गर्न सकिन्छ । चिमखोलाको मण्डली युवा क्लबले दुई वर्षअघि चिमखोलादेखि पात्लेखेत–जसलाङ–सिजिखोला– सिजिखर्क–थामखर्क–खोलाखर्क– सिसर्का–तल्लोमेला–उपल्लोमेला– आलेखर्क–नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेको थियो । सोवाङ धुरीबाट रघुगंगा गाउँपालिकाको बेगखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना र मुस्ताङको लेते जान सकिन्छ । चिमखोलादेखि हिँड्नसक्ने एक दिन र विस्तारै हिँडेर दुई दिनमा सोवाङ धुरी पुग्न सकिन्छ । नयाँ पहिचान भएको पदमार्ग र सोवाङ धुरीको प्रचारप्रसारका लागि ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको छ । चिमखोला घर भई हाल पोखरामा बसोबास गर्ने तारा गर्बुजा पुन र उनका भाई गोपिन पुनले सोवाङ धुरीदेखि २०० मिटर तल क्याम्पिङ गर्ने ठाउँ नजिकै पाँच/पाँच सय लिटर क्षमताका दुई वटा ड्रम राखेका छन् । वडा कार्यालयले पनि थप दुई ड्रम राखेको छ । हिउँ पग्लिएर र आकाशको पानी ड्रममा संकलन हुने व्यवस्था मिलाएपछि पर्यटकका साथै गोठालालाई सुविधा पुगेको छ । वडा कार्यालयको प्रस्तावमा गाउँपालिकाले गत वर्ष सोवाङ धुरीमा शौचालय निर्माण गरेको थियो । होटल र रेष्टुरेष्ट नभएकाले बन्दोबस्तीका सामानसहित जानुपर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्