मियामी – क्रेमलिनले आइतबार युक्रेन, रुस र संयुक्त राज्य अमेरिकाबीच त्रिपक्षीय वार्ता हुने कुरा अस्वीकार गरेको छ । युक्रेन द्वन्द्व अन्त्यका लागि वार्ता गर्न युक्रेन र युरोपका कूटनीतिज्ञहरू मियामीमा भेला भइसकेको समय रुसको यो भनाइ आएको हो ।
एक दिनअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वासिङ्टनले त्रिपक्षीय ढाँचाको प्रस्ताव प्रस्तुत गरेको बताएका थिए । क्रेमलिनको अपेक्षाअनुसार वार्ता भएमा मस्को र किएभबीच करिब छ महिनाको पहलपछि पहिलोपटक आमनेसामने वार्ता हुनेछ तर यसले युद्धविरामका लागि प्रगतिको आधार तय गर्नेमा भने अझै आशंका व्यक्त गरिएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले भने, ‘यो पहलबारे अहिलेसम्म कसैले गम्भीरतापूर्वक छलफल गरेका छैनन् र मलाई थाहा भएसम्म यो तयारीका बारेमा रुसलाई कुनै जानकारी छैन ।’
अमेरिकाको पहलमा त्रिपक्षीय प्रस्तावको खुलासा गर्दै युक्रेनी नेता जेलेन्स्कीले शनिबार भनेका थिए, ‘यसबाट केही नयाँ हुन सक्छ भन्नेमा आफू विश्वस्त नभएको र संयुक्त राज्य अमेरिकालाई युद्ध अन्त्य गर्न रुसमाथि दबाब बढाउन आग्रह गरिएको छ ।’
युक्रेनी नेताले आइतबार थप उत्साहित टिप्पणी गर्दै भनेका छन्, ‘अमेरिका, युरोपेली नेता र युक्रेनी वार्ताकारहरू बीचको ‘रचनात्मक’ वार्ता एकदम द्रुत गतिमा अघि बढिरहेको र वार्ता सफल हुने वा नहुने भन्ने कुरा रुसले वास्तवमा युद्ध अन्त्य गर्न आवश्यक महसुस गर्छ कि गर्दैन भन्ने कुरामा धेरै निर्भर देखिन्छ ।’
जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा गरेको पोस्टमा भनिएको छ, ‘रुसी युद्ध अपराध सीमामा हाम्रो पूर्वाधारमा निरन्तर हमलाहरूले दुर्भाग्यवस, रुसबाट आउने संकेतहरू वास्तवमा नकारात्मक छन् भन्ने पुष्टि हुन्छ ।’
अमेरिकी विशेष दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नरको मध्यस्थतामा गरिने वार्ताका लागि रुसी विशेष प्रतिनिधि किरिल दिमित्रीएभ शनिबार मियामी पुगेका छन् । युक्रेनी र युरोपेली टोलीहरू पनि वार्ताका लागि शुक्रबारदेखि मियामीमा भेला भएका हुन् ।
उशाकोभले भने, ‘अमेरिकी अधिकारीसँगको वार्तापछि दिमित्रिएभ मस्को फर्कनुहुनेछ आफ्नो रिपोर्ट बनाउनुहुनेछ र आगामी दिनमा रुसले के गर्ने भनेर हामी छलफल गर्नेछौं ।’
क्रेमलिनका उच्च सहयोगीले आइतबार रुसी पत्रकारहरूलाई द्वन्द्व अन्त्यका लागि संशोधित अमेरिकी प्रस्तावलाई आफूले नहेरेको बताए ।
वासिङ्टनले गत महिना युक्रेन र उसका युरोपेली सहयोगीहरूलाई युद्ध अन्त्य गर्न २८ बुँदे योजना प्रस्तुत गरेको थियो । योजनाले अमेरिका क्रेमलिनको प्रमुख मागहरूमा व्यापकरूपमा झुकेको पाइएको भन्दै युरोप र किएभले विरोध गरेका थिए । पछि विरोध गर्नेहरूलाई पनि संलग्न गराइएपछि योजनालाई पुनः मस्यौदा गरिएको छ ।
पछिल्लो संस्करणको बारेमा थो रै मात्र थाहा भए पनि किएभले अमेरिकी सुरक्षा ग्यारेन्टीको बदलामा केही क्षेत्र आत्मसमर्पण गर्ने अपेक्षा गरिएको छ । योजनाले धेरै युक्रेनीहरूले असन्तुष्ट पारेको हुनसक्ने बताइएको छ ।
हालैका महिनाहरूमा मस्कोका सेनाहरू पूर्वी मोर्चामा लगातार अगाडि बढिरहेका छन् भने रुसी नेता पुटिनले शुक्रबार युद्धमा रुसी सेनाले क्षेत्रीयरूपमा गरेको लाभको प्रशंसा गरेका थिए ।