नेभिगेशन
अर्थतन्त्र

घट्न थाल्यो विद्युत् उत्पादन

७०० मेगावाटसम्म आयात गर्ने तयारी

काठमाडौं । चिसो बढ्दै गएपछि नदी तथा खोलामा पानीको सतह कम हुँदा विद्युत् उत्पादन घट्दै गएको छ । निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरणका जलविद्युत् केन्द्रहरूको उत्पादनमा कमी आउँदै गएको हो ।

सञ्चालनमा रहेका अधिकांश जलविद्युत् केन्द्रहरू नदीको बहावमा आधारित छन् । सुख्या याम सुरु भएपछि नदीमा पानीको बहाव कम हुने भएकाले विद्युत् उत्पादन पनि घट्ने गर्छ । राष्ट्रिय प्रसारण प्रणालीमा कूल विद्युत् जडित क्षमता ४ हजार मेगावाट छ । अहिले विद्युत्को माग पिक आवर २१८० मेगावाट छ भने अन्य समयमा १६२१ मेगावाट छ । अहिलेको उत्पादन २१८० मेगावाट हाराहारी रहेको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए ।

अहिले प्राधिकरणका जलविद्युत् केन्द्रहरूको उत्पादन ३९८ मेगावाट र सहायक कम्पनीहरूको उत्पादन ६४४ मेगावाट छ । निजी क्षेत्रका जलविद्युत् केन्द्रको उत्पादन ११३८ मेगावाट हाराहारी छ ।

विद्युत् उत्पादन घट्दै गएपछि माग व्यवस्थापन गर्न भारतबाट आयात गर्ने तयारी प्राधिकरणको छ । ढकालका अनुसार उत्पादन कम हुन थालेपछि माग र आपूर्ति व्यवस्थापन मिलाउन एक साता अघिदेखि भारतबाट आयात गरेर माग व्यवस्थापन गरिएको छ । अहिले विद्युत् उत्पादन र उच्च माग बराबर रहेकाले पिक आवरको माग व्यवस्थापनका लागि अर्धजलाशय आयोजनामा पानी जम्मा गर्ने समयको माग व्यवस्थापन गर्न दिउँसोको समयमा २०० मेगावाट हाराहारी विद्युत आयात गरिएको छ ।

‘खोला नदीमा पानीको सहत कम हुँदै जाँदा विद्युत् उत्पादनमा कमी आएपछि आपूर्ति व्यवस्थापन मिलाउन एक सातादेखि भारतबाट आयात गर्न थालिएको छ,’ प्रवक्ता ढकालले भने, ‘अहिले माग हेरेर करिब २०० मेगावाट हाराहारीमा विद्युत् आयात गरिएको छ ।’ अब विद्युत उत्पादन झन कम हुँदै जाने भएकाले आयात पनि बढ्ने छ । प्राधिकरणका अनुसार यो वर्ष सुख्खा याममा ७०० देखि ७५० मेगावाटसम्म विद्युत् आयात हुने अनुमान छ । गत वर्ष अधिक सुख्खा याममा ४०० केभी ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन तथा १३२ केभी कुसाहा– कटैया, रक्सौल–परवानीपुर लगायत विन्दुबाट गरी अधिक सुख्खा याममा दैनिक एक हजार मेगावाटसम्म बिजुली आयात गरिएको थियो ।

सुख्खा यामको विद्युत् माग व्यवस्थापनका लागि अहिले कुलेखानी जलाशयको मर्मतको काम भइरहेको पनि ढकालले जानकारी दिए । यो वर्ष बर्खामा कुलेखानी क्षेत्रमा कम पानी परेका कारण जलाशय पूर्णरूपमा भरिएको छैन् । ढकालका अनुसार अहिले कुलेखानी जलाशयमा पानीको सतह १५२० मिटर छ । कुलेखानी जलाशय नभरिएको भए पनि यो वर्ष गत वर्षको तुलनामा कम आयात हुने प्राधिकरणको प्रक्षेपण छ ।

प्राधिकरणको भार प्रेषण केन्द्रले दिएको जानकारी अनुसार यो वर्ष राष्ट्रिय प्रसारण प्रणालीमा सौर्य विद्युत् आयोजना समेत जोडिएकाले आयात गत वर्षको भन्दा कम हुनेछ । सौर्य विद्युत् उत्पादनले सुख्खा याममा दिउँसोको माग व्यवस्थापनमा सहयोग पुग्ने हुँदा अर्धजलाशय जलविद्युत् केन्द्रमा पानी सञ्चित गरेर विद्युत्को माग बढी हुने साँझको समयमा चलाउन सकिने भएकाले पनि यो वर्ष गत वर्षको भन्दा आयात घटाउन सकिने प्राधिकरणको दाबी छ । अहिले राष्ट्रिय प्रसारण प्रणालीमा सौर्य विद्युत् आयोजनाको जडित क्षमता १५० मेगावाटभन्दा बढी छ । गत वर्ष ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् केन्द्र लामो समय बन्द हुँदा आयात धेरै गर्नुपरेको थियो । गत वर्ष सुख्खा याममा भारतले दिउँसोको समय (सोलार आवर) मा मात्रै विद्युत् दिएका कारण साँझको समयमा केही घन्टा उद्योगहरूमा विद्युत् कटौती गरिएको थियो ।

बर्खामा उत्पादन बढी हुँदा विद्युत् खेर जाने र सुख्खा याममा अपुग भई आयात गर्नुपर्ने बाध्यात्मक अवस्था सधैंको हो । बर्खा याममा पूर्ण क्षमतामा चल्ने जलविद्युत् केन्द्रहरूको उत्पादन सुख्खा याममा जडित क्षमताको ४० प्रतिशतभन्दा तल आइपुग्ने हुँदा विद्युत्को माग र आपूर्तिको बीचमा ठूलो खाडल देखिने गरेको छ । पछिल्लो समय जलवायु परिवर्तनको प्रभावका कारण जलविद्युत् केन्द्रहरूको उत्पादन जडित क्षमताको २० प्रतिशतभन्दा तल झर्ने गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्