नेभिगेशन
अर्थतन्त्र

शेयरबजार २६ सय विन्दुबाट तल ओर्लियाे

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयरबजार ओरालो लागेको छ । कारोबार मापन नेप्से परिसूचक १९.९२ अंक घटेर २,५९५.१० विन्दुमा झरेको छ । लगानीकर्ताले बलियो आधार रेखा मान्दै आएको २६ सय विन्दुलाई तोडदै बजार तल झरेको हो ।

यसदिन चार अर्ब ५२ करोड ८७ लाख रुपैयाँ बराबरको एक करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर किनबेच भएको छ ।

कारोबार भएका २५७ कम्पनीमध्ये २०७ वटाको शेयरमूल्य घट्दा बजार दबाबमा परेको हो । यद्यपी, ४३ कम्पनीका शेयरधनीले भने कमाएका छन् । बाँकी सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

सूचीकृत १३ समूहमध्ये म्युचुअल फण्ड मात्रै बढेको छ । बाँकी सबै घटेका छन् । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह १.६३ प्रतिशत घटेको छ । त्यसपछि जीवन बीमा १.५२, विकास बैंक १.४२, फाइनान्स १.३४, व्यापार १.०१, जलविद्युत ०.८६, निर्जीवन बीमा ०.८०, लगानी ०.५८, बैंकिङ ०.४७, अन्य ०.४२ र उत्पादन तथा प्रशेधन ०.०९ प्रतिशत घटेका छन् ।

बजार घटेपनि एसवाई प्यानलको शेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै सिद्धार्थ बैंक र नेपाल एसबिआई बैंकले सञ्चालन गरेका एक/एक वटा ऋणपत्रको मूल्य पनि नौ प्रतिशतभन्दा धेरै बढेको छ । सिन्धु विकास बैंकको शेयरमूल्य भने १० प्रतिशत घटेर नकारात्मक सर्किट लागेको छ ।

स्वस्तिक लघुवित्त वित्तीय संस्थाको शेयरकारोबार सर्वाधिक १३ करोड रुपैयाँको भएको छ । लगानीकर्ताको सम्पत्ति एक दिनमा ३३ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ४३ खर्ब ५७ अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण पनि १२ अर्ब रुपैयाँ घटेर १४ खर्ब ७५ अर्ब रुपैयाँ कायम भएको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा प्रशस्त लगानीयोग्य रकम रहेको, ब्याजदर घटेर न्यून विन्दुमा झरेको, कम्पनीहरूले लाभांश वितरण गर्ने क्रम बढेको भए पनि बजारमा शेयर बिक्री गर्ने हरू बढेका छन् ।

जसले गर्दा बजार दबाबमा देखिन्छ । ठूला र संस्थागत लगानीकर्ताले लगानीको वातावरण नबनेको भन्दै शेयर खरिद कम गर्दै  लगेका छन् ।

यसबाट माग पक्ष कमजोर देखिन्छ । माग कमजोर हुँदा सूचकमा गिरावट आउनु स्वभाविक हो । लगानीकर्ताले राजनीतिक स्थिरता र चुनाव पर्खिरहेको देखिन्छ । यसैको असर शेयरबजारमा पनि परेको विश्लेषण गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्