नेभिगेशन
अर्थतन्त्र

कलशको शेयर शिक्षा

काठमाडौं – शेयरबजारमा नवप्रवेशी लगानीकर्ताका विभिन्न प्रश्नसँगै सञ्चित स्टक छनोटको सल्लाह दिन कलश स्टक मार्केट प्रालि (ब्रोकर नं. ७४)ले एउटा कार्यक्रम गरेको छ । शेयर बजारमा आबद्ध तथा इच्छुक लगानीकर्तालाई लक्षित गर्दै शनिबार निःशुल्क प्राविधिक विश्लेषणसम्बन्धी शेयर शिक्षा कार्यक्रम आयोजना गरेको हो ।

काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा भएको कार्यक्रममा शेयर बजार विश्लेषक अजित खनाल स्रोत व्यक्तिका रूपमा सहभागी थिए । उनले पुँजी बजारका प्राविधिक पक्ष, शेयरको मूल्य चाल विश्लेषण, जोखिम व्यवस्थापन तथा दीर्घकालीन रूपमा लाभदायक लगानी कसरी गर्ने भन्ने विषयमा सहभागीलाई प्रशिक्षण दिए ।

पछिल्लो समय नेपालको पुँजी बजारप्रति लगानीकर्ताको चासो उल्लेख्य रूपमा बढ्दै गएको छ । लगानी गर्दा कुन प्रकृतिका कम्पनीका शेयर छनोट गर्ने, बजारको प्रवृत्ति कसरी बुझ्ने र तथ्यमा आधारित निर्णय लिनु किन आवश्यक छ भन्ने जानकारी यस्ता तालिमबाट प्राप्त हुने भएकाले लगानीकर्ताले यस्तो अवसर छुटाउन नहुने सहभागीलाई बताइएको थियो।

काठमाडौं–१० बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केटले समय–समयमा देशका विभिन्न स्थानहरूमा प्रत्यक्ष तथा अनलाइन माध्यमबाट संसारका विभिन्न भूभागमा रहेका नेपाली लगानीकर्तालाई लक्षित गरी वित्तीय साक्षरता र शेयर शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको प्रबन्ध सञ्चालक शालिकराम अधिकारीले बताए । आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने लक्ष्य रहेको उनको भनाइ छ ।

कार्यक्रममा नयाँ तथा अनुभवी गरी उल्लेख्य संख्यामा लगानीकर्ताको सहभागिता थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्