नेभिगेशन
अर्थतन्त्र

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सडक स्तरोन्नति सकिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका भुरुङ–तातोपानीको नागढुंगादेखि मुस्ताङको थासाङ गाउँपालिका घाँसाको कैह्कुखोला खण्डको सडकलाई ११ मिटर फराकिलो बनाएर दुई लेन कालोपत्र र ढलान गर्न आर्थिक वर्ष २०७३/७४ देखि योजना सुरु भएको थियो । शर्मा– गजुरमुखी जेभीले ‘भेरियसन अर्डर’सहित रु ६३ करोडमा ठेक्का लिएको तातोपानी–घाँसा खण्डको १६ किलोमिटर ५०० मिटर सडकमध्ये पहिरो प्रभावित तीन किलोमिटर ३०० मिटरबाहेकको ठाउँमा कालोपत्र र ढलान गर्ने काम सकिएको हो ।

जेभीका आयोजना व्यवस्थापक नरन्द्र न्यौपानेले दुई किलोमिटर ५०० मिटर ढलान र १० किलोमिटर ७०० मिटरमा डिबिएसडी प्रविधिको कालोपत्र भएको जानकारी दिए । ‘प्रतिकूल भूगोल, कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्री अभावलगायत कारणले योजना निर्माणमा ढिलाइ भएको हो’, उनले भने, ‘स्तरोन्नति सकिएको सडकलाई औपचारिक रूपमा सडक आयोजना कार्यालयलाई हस्तान्तरणको प्रक्रियामा छौं ।’

लक्ष्यभन्दा पाँच वर्ष ढिलागरी सम्पन्न भएको हो । गजुरमुखी निर्माण सेवा आन्तरिक समस्यामा परेपछिसाझेदार शर्माले अधुरो कामलाई पूर्णता दिएको हो । पहिरो प्रभावित गुइँठे, खामभित्ता, दुवारीखोला, लाटोखोला, रुप्से, घोप्टेभिर, ठाडोखोला खण्डमा आयोजनाले नयाँ ठेक्कामार्फत काम सुरु गरेकोछ ।

कडा चट्टान र साँघुरो सडक भएको काभ्रेभिर, बादरजुङ र घोप्टेभिर क्षेत्रमा ‘रक एङ्करिङ’ गररे सडक फराकिलो बनाइएको छ । नागढुङ्गा, जलथले, गुइँठे, सुकेबगर, दाना, तितर, काभ्रे र घाँसा क्षेत्रमा कालोपत्र भएको छ । सडक कालोपत्र भएपछि दुई घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रमेश पुर्जाले बताए । मुस्ताङ आवतजावत गर्ने पर्यटक, तीर्थयात्री, स्थानीयवासीका साथै कोरला नाकाबाट सामान आयातनिर्यात गर्ने मालवाहक सवारीसाधनलाई सहज भएको छ । सडक सहज भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको वडाध्यक्ष पुर्जाले बताए । शर्मा–गजुरमुखीले बेनी–जोमसोम कोरला सडकको दोस्रो (तातोपानी–घाँसा) र तेस्रो घाँसा कैह्कुखोला– खन्ती खण्डमा स्तरोन्नतिको जिम्मा लिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्