नेभिगेशन
अर्थतन्त्र

सिन्धु विकास बैंकको वित्तीय अवस्थामा सुधार

बनेपा – सिन्धु विकास बैंकको वित्तीय अवस्थामा सुधार भएको छ । बैंकको कार्यकारी प्रमुख (सीईओ) सुरेश देवकोटा नियुक्त भएपछि बैंकिङ गतिविधिमा सुधार आउँदा नाफामा पनि सुधार आएको बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२ मा वित्तीय सूचकहरूमा राम्रो प्रगति भएको छ । बैंकको प्रतिशेयर आम्दानी ३१.७६ रुपैयाँ छ । जुन अघिल्लो आर्थिक वर्षमा ५.४६ रुपैयाँ थियो । प्रतिशेयर नेटवर्थ अघिल्लो आर्थिक वर्षमा ६३.५० रुपैयाँ रहेकोमा २०८२ असार मसान्तमा ९७.२४ रुपैयाँ पुगेको छ । खासगरी निष्कृय कर्जा असुलीमा सुधार भएपछि वित्तीय सूचकहरूमा सकारात्मक असर परेको देखिन्छ ।

बैकको निष्कृय कर्जा २०८२ असार मसान्तमा ६.०८ प्रतिशत छ । जुन २०८१ असार मसान्तमा १०.६३ प्रतिशत थियो । गत असारमा बैकको पुँजीकोष अनुपात १३.०७ प्रतिशत पुगेको छ, जुन विगतमा ६ प्रतिशत थियो । पुँजीकोष अनुपात तोकिएबमोजम नभएपछि नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गरेकोमा अब छिट्टै हटने विश्वास बैंकले लिएको छ ।

बैंकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण वार्षिक साधारणसभामा पेश गर्न स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाइसकेको छ । नेटवर्थमा उल्लेख्य सुधार भए पनि विगत वर्षहरूको संचित नोक्सानीको कारणले यस वर्ष बैंकले कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।

प्रादेशिकस्तरको पाँच जिल्ला कार्यक्षेत्र रहेको बैकले सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, मकवानपुर र चितवन जिल्लामा २५ वटा शाखा र एउटा एक्टेन्सन काउन्टरमार्फत डेढ लाख ग्राहकहरूलाई वित्तीय सेवा दिइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्