नेभिगेशन
राजनीति

फागुनमा चुनाव गराउनैपर्ने संवैधानिक बाध्यता : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा निर्वाचन सम्पन्न गराउनु नै सरकारको प्रमुख दायित्व भएको बताएकी छन् । सोमबार आफैंले बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाज र जेनजी प्रतिनिधिबीचको बैठकमा प्रधानमन्त्री कार्कीले फागुनमा चुनाव सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले निर्धारित समयमा नै निर्वाचन हुने बताइन् ।

उनले निर्धारित मितिमा चुनाव गराउनैपर्ने कारणबारे पनि छलफलमा प्रष्ट्याउने प्रयास गरिन् । ‘६ महिनाको निर्वाचनको कुरा उठ्यो । त्यो समय पनि संविधानसम्मत भएको हुनाले हामीले अन्यथा भन्ने कुरा भएन । सरकारको समय वा संसद्को दुई अधिवेशनको बीचमा ६ महिनाभन्दा बढी समय हुनुहुन्न भन्ने संविधानको बाध्यकारी व्यवस्था हाम्रा सामू छ,’ कार्कीले भनिन् ।

भदौ २३ र २४ को घटना सोचेभन्दा बाहिरको भएको भन्दै उनले सिंगो राष्ट्रले परिवर्तनको आवश्यकता महसुस गरेको बताइन् ।

राजनीतिक दल, नागरिक समाज र जेनजी प्रतिनिधिको कुरा सुनिसकेपछि उनले आफ्नो हैरानी पनि लुकाइनन् । अन्तरिम सरकारमाथि अहिले जेनजी, राजनीतिक दलहरू सबैले प्रहार गरिरहेको बताइन् । ‘यहाँ कसले कसलाई दोष लगाउने ? हिजो जे त्रुटि भए, जे गल्ती भए, जेको परिणामबाट भदौ २३ र २४ घट्यो, त्यो आवेगलाई हामी झेलिरहेका छौंँ,’ उनले भनिन्, ‘आज हामी आलोचनाको पात्र जेनजीबाट पनि भएका छौंं भने राजनीतिक दलबाट पनि भएका छौंं । हामी अचानो भएका छौंं ।’

उनले राजनीतिक दल देशको लागि सर्वेसर्वा नभई सबैभन्दा पहिला जनता हुने पनि बताइन् । ‘यो देशको सर्वेसर्वा भनेको जनता जनार्दन हो । हामीले कुनै पनि राजनीतिक दलभित्र आफ्नो भागबण्डा मिलेन, आफूबीचमा मन मिलेन भने त्यसको नकारात्मक असर र प्रताडना जनतालाई दिनु हुँदैन । जनताको एउटा च्वाइसको कुरा हो । यहाँ सबैभन्दा ठूलो महान भनेको जनता हो । राजनीतिक दलहरू भनेको दोस्रो कुरा हो,’ उनले भनिन् । सबैलाई निर्वाचनमा सहभागी हुन पनि उनले आग्रह गरिन् । सबैजसो दलले चुनावमा जान तयार रहेको बताए पनि एमालेका नेताले भने चुनाव हुनेमा विश्वास नरहेको भनाइ राखे ।

बैठकमा सहभागी दलका प्रतिनिधिहरूले शान्तिसुरक्षा सुनिश्चित नभएसम्म निर्वाचनको वातावरण नबन्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री कार्कीले दलहरूलाई शान्ति सुरक्षामा पनि आश्वस्त पार्ने प्रयास गरिन् । ‘सबै राजनीतिक दल एकताबद्ध भएर शान्ति चाहने हो भने यहाँ कोही माइकालाल छैन, जसले यहाँ आतंककारी हमला गर्न सकोस्, कुनै अपराधीले बन्दुक उठाउन सकोस्, कसैले सक्दैन,’ उनले भनिन् । ११४ वटा राजनीतिक दल कसैले पनि खराब तत्वलाई प्रश्रय नदिने हो भने कसैको केही सीप नचल्ने उनले बताइन् । चुनावका लागि पर्याप्त समय रहेको पनि उनको भनाइ थियो । दुई–अढाई महिनाको बाँकी समय पर्याप्त रहेको उनले जिकिर गरिन् ।

स्थानहद हटाउन दबाब

कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीले केपी शर्मा ओली र रमेश लेखकको स्थानहदका विषयमा प्रश्न उठाएका छन् । भदौ २३ र २४ को जेनजी आन्दोलनलाई लिएर तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकमाथि जाँचबुझ आयोगले स्थानहद लगाएको छ ।

छलफलमा तीन वटै राजनीतिक दलले नेताहरूलाई स्थानहद तोकेर फागुन २१ गतेको निर्वाचनको वातावरण नबन्ने मात्र बताएनन् ती दलका शीर्ष नेतासँग छलफल गर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिए । 

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले चुनावको वातावरण बनाउन राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्न सुझाव दिए । उनले भने, ‘स्थानहदको कुरा आएको छ । प्रतिनिधि सभामा जहाँबाट चुनाव लड्न पाउँछौं । निर्वाचन भनेर मात्र हुँदैन, निर्वाचनको वातावरण बन्नुपर्‍यो । निकास यही हो ।’

एमाले सचिव महेश बस्नेतले पनि स्थानहदको विषय उठाए । उनले जिल्ला जाँदा आफूले ढुंगा खाएको उल्लेख गर्दै भने, ‘ढुंगा खाँदा खुसीयाली मनाइएको छ । दलका नेताहरूलाई स्थानहद गरिएको छ ।’ एमाले संवाद र सहकार्यबाट नभाग्ने तर पुराना दललाई निषेध नगर्न उनले आग्रह गरे । बस्नेतले पनि दलहरूलाई पछाडिबाट प्रस्ताव पठाउनुभन्दा एक्लाएक्लै कुराकानी गर्न सुझाव दिए ।

नेकपा नेता राजेन्द्र पाण्डेले स्थानहद गर्ने विषयको विरोध गरे । उनले भने, ‘चुनाव गर्ने हो भने स्थानहद गर्न हुँदैन । मूल पार्टीका नेतालाई स्थानहद गर्ने ? चुनाव भनेको आफ्नो पार्टीको सिद्धान्त प्रचार गर्ने कुरा होइन ? देशको कुना कुना जानुपर्ने होइन ?’ पाण्डेले पनि प्रधानमन्त्री कार्कीलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन एक्लाएक्लै भए पनि नेताहरूसँग कुराकानी गर्न सुझाए ।

छलफलका सहभागी संविधानविद् राधेश्याम अधिकारीले पनि चुनावका लागि दलहरूसँग निरन्तर संवाद हुनुपर्ने धारणा राखे । उनले भने, ‘स्थानहद गरेर चुनावमा जानु भनेको खुट्टा बाँधेर पौडी खेल्न जा भनेजस्तो हो ।’

जेनजीका मागबारे प्रधानमन्त्रीले के भनिन्?

छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जेनजीका मागबारे पनि प्रष्ट पारिन् । उनले जेनजीले उठाएका माग सबैले महसुस गरेको बताइन् । 

‘भर्खरै के ही दिनअघि जेनजीकै आन्दोलनका सम्बन्धमा बेलायती प्रधानमन्त्रीले भने, पूरै आह्वान गरे – तपाईँ जेनजीहरू आउनुहोस्, खुला दिलले स्वागत गर्छौं, हाम्रो पार्टी खुला छ । आउनुहोस्, सेवा गर्नुहोस् जनताको, हामी तपाइँहरूलाई पूरै ठाउँ छोडिदिन्छौं, हामीले पनि त्यो भन्न सक्नुपर्छ, परिवर्तित समयमा,’ उनले भनिन्, ‘हामी जेनजीका रगतमा ऐशआराम गर्न आएका होइनौँ । हामीले ऐशआराम पनि गरेका छैनौं । हिजो राजनीतिक दलले कसरी इन्जोय गरेको थियो र आज हामीले के गरेका छौं ? मूल्यांकन गरेर हेर्नुहोस् । त्योचाहिँ तपाईँहरूले विचार गर्नुपर्ने कुरा हो ।’

उनले जेनजीले उठाएका सुशासनका मागबारे पनि जवाफ दिइन् । ‘३९–४० वटा मुद्दा अख्तियारले दर्ता गरिसक्यो । सीआईबीले पिछा गरेको गर्‍यै, दौडेको दौड्यै छ । त्यो काम त कहिल्यै भएको पनि थिएन । यस कुरालाई पनि मनन गर्नुहोला,’ उनले आफूले नेतृत्व गरेपछि भएका कामबारे भनिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्