रौतहट । दिनदिनै चिसो बढेको छ । स्याँठ चल्न थालेको छ । साँझपख हुस्सु लाग्न थाल्छ, बिहान घाम नआउँदासम्म कुहिरोले वातावरण ढाकिदिन्छ । चार दिनदेखि चिसोले तराई–मधेसका जिल्लाहरू नराम्ररी प्रभावित भइरहेका छन् । रौतहट निकै चिसिएको छ । जनजीवन प्रभावित भएको छ ।
चिसोको प्रहार सबैलाई समान रूपमा परेको छैन । गरिब, दलित र विपन्न समुदायहरू सबैभन्दा बढी मारमा परेका छन् । चिसो बढेसँगै दैनिक जीवन कठिन बनेको छ । बस्ती बस्तीमा घुर तापेर बसेकाहरू देखिन्छन् ।
चन्द्रपुर–९ मुसहर बस्तीका चरनदेव माझी भन्छन्, ‘हाम्रो समुदायमा धेरैलाई जाडोमा लगाउने न्यानो कपडा पनि छैन । जाडो छल्ने मुख्य उपाय त घुर ताप्नु हो ।’ रौतहटका १८ वटै पालिकामा विपन्न परिवारको दैनिकी अत्यधिक चिसोका कारण कठिन बनेको उनले बताए ।
कतिपय परिवारले सुत्नका लागि पराल ओछ्याएर, त्यसैलाई ओढेर रात काट्ने गरेका छन् । मुसहर बस्तीका धेरैको छाप्रोमा खाट पनि छैन । चन्द्रपुर–९ चेतनगरकी ६० वर्षीया देवरतिया देवी झुप्रो घरमा भुइँमै पराल ओछ्याएर गुन्द्री ओढेर रात काट्ने गरेको बताउँछिन् । ‘न्यानो लुगा किन्ने हैसियत छैन । भुइँमा पराल ओछ् याएर, गुन्द्री ओढेर सुत्छौं,’ उनले भनिन्, ‘धेरै चिसो भयो भने चुलोमा आगो बालेर रात कटाउँछौं ।’ सामाजिक सुरक्षा भत्तामा जीवन निर्वाह गरिहेकी उनी त्यो पर्याप्त नभएको गुनासो गर्छिन् ।
चिसोले बालबालिका, बिरामी, सुत्केरी महिला र वृद्धवृद्धालाई गाह्रो पारेको छ । शिक्षा, स्वास्थ्य र पोषणमा पछाडि परेका समुदायहरू थप समस्यामा छन् । दलित अगुवा सुनेलाल राम भन्छन्, ‘राज्यले मात्र राहत बाँडेको भरमा काम चल्दैन । दीर्घकालीन रुपमा रोजगारी र आयआर्जनका अवसरहरू दिलाउन सके मात्रै विपन्न परिवारमा चिसोसँग लड्ने आर्थिक हैसियत विकास हुन्छ ।’ रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भने चिसो प्रभावितहरूको तथ्यांक संकलन र राहत वितरणका लागि विपद् व्यवस्थापन समिति र स्थानीय तहसँग समन्वयमा काम गरिरहेको बताए । चिसोबाट जोगिन आवश्यक न्यानो कपडा, दाउरा लगायतका राहत सामग्रीहरूको तयारी भइरहेको छ ।
.jpg)
अझ चिसिँदैछ तराई
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन तराई–मधेशका जिल्लाहरूमा चिसो अझ बढ्ने पूर्वानुमान गरेको छ । विभागद्वारा सोमबार जारी बुलेटिनअनुसार कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा हुस्सु–कुहिरो लाग्ने क्रम यथावत रहनेछ । दिनहुँ अपरान्हपछि मौसममा केही सुधार आउनेछ ।
ढिलासम्म हुस्सु–कुहिरो लाग्ने भएकाले विमानस्थलहरूमा भिजिबिलिटी अपुग हुँदा हवाई उडानहरू प्रभावित हुने देखिएको छ । चिसो अझ बढ्ने भन्दै विभागले सर्वसाधारणलाई सतर्क गराएको छ ।
मधेशका मौसमी तथ्यांक मापक केन्द्रहरू जनकपुर र सिमरामा सोमबार न्यूनतम तापक्रम १०.६ र १२.६ डिग्री सेल्सियस रह्यो । आइतबार सिमरामा १६.२ र जनकपुरको १९.४ डिग्री सेल्सियस थियो । सोमबार धनगढीको सबैभन्दा कम ८.२ र नेपालगञ्जको ९.२ डिग्री सेल्सियस रह्यो । विभागका अनुसार पश्चिमी वायुको प्रभाव रहेकाले देशभर चिसो बढेको छ ।